काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको भोलिपल्ट सेयर बजार परिसूचक नेप्से ४८ अंकले बढ्यो । तर त्यसपछिको कारोबारमा भने बजारले वृद्धिलाई निरन्तरता दिन सकेन ।
बुधबार नेप्से परिसूचक २१.१९ अंकले घटेर २ हजार ६ सय १२ अंकमा झर्यो । सरकारले पुँजी बजार सुधारका लागि विभिन्न नीतिगत कदम घोषणा गरे पनि दोस्रो दिनमै बजार ओरालो लागेपछि लगानीकर्ताबीच बजारको आगामी दिशाबारे चासो बढेको छ ।
सेयर बजारका जानकार तथा ब्रोकरहरूका अनुसार बजार घट्नुमा मुख्यतः कर कार्यान्वयनबारे अन्योल, संस्थागत लगानी आउन समय लाग्नु र पुराना लगानीकर्ताको थप लगानी क्षमता कमजोर हुनु जस्ता कारण देखिएका छन् ।
करको दरबारे अन्योल
बजारमा देखिएको पहिलो अन्योल सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरको नयाँ दर कहिलेदेखि लागू हुन्छ भन्ने विषयमा थियो ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्दा १० प्रतिशत र एक वर्षभन्दा बढी अवधिपछि बिक्री गर्दा ७।५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गरेको थियो ।
यसअघि एक वर्षभन्दा कम अवधिमा बिक्री गरिएको सेयरमा ५ प्रतिशत र एक वर्षभन्दा बढी अवधिपछि बिक्री गर्दा ७।५ प्रतिशत कर लाग्ने व्यवस्था थियो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भने एक वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्दा ५ प्रतिशत र एक वर्षभन्दा बढी अवधिपछि बिक्री गर्दा ३।५ प्रतिशत पुँजीगत लाभकर लाग्ने निर्णय गरेको छ ।
तर उक्त निर्णय राजपत्रमा प्रकाशित भएपछि मात्र कार्यान्वयनमा आउने भएकाले करको नयाँ दर कहिलेदेखि लागू हुन्छ भन्ने विषयमा लगानीकर्तामा अन्योल देखिएको हो ।
करसम्बन्धी अन्योल स्पष्ट भएपछि बजारमा त्यसको सकारात्मक प्रभाव देखिन सक्ने ब्रोकरहरूको अनुमान छ ।
संस्थागत लगानी आउन समय लाग्ने
सरकारको २१ बुँदे कार्ययोजनामा संस्थागत लगानीकर्तालाई पुँजी बजारमा थप सक्रिय बनाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।
सरकारले असोजदेखि मंसिरसम्म संस्थागत लगानीकर्ताका लागि आवश्यक वातावरण तयार गर्ने उल्लेख गरेको छ। तर संस्थागत लगानीकर्ताले तत्कालै बजारमा ठूलो रकम परिचालन गर्न सक्ने अवस्था नहुन सक्छ ।
लगानी गर्नुअघि सञ्चालक समितिबाट निर्णय गराउनुपर्ने, आन्तरिक प्रक्रिया पूरा गर्नुपर्ने तथा लगानीसम्बन्धी स्वीकृति लिनुपर्ने भएकाले संस्थागत लगानी बजारमा आउन केही समय लाग्ने ब्रोकरहरू बताउँछन् ।
सरकारले लगानीकर्ताले नाफाबाट विगतको नोक्सानी घटाएर बाँकी रकममा मात्र कर तिर्न सक्ने व्यवस्था गर्न अध्ययन गर्ने विषय पनि कार्ययोजनामा समेटेको छ।
नोक्सानी समायोजनको व्यवस्था लगानीकर्ताले लामो समयदेखि माग गर्दै आए पनि अहिले तत्काल कार्यान्वयन नभई अध्ययनको चरणमा रहेकाले त्यसले बजारमा तत्काल ठूलो प्रभाव पार्न नसकेको विश्लेषण छ ।
पुराना लगानीकर्तासँग थप लगानीको क्षमता कम
ब्रोकरहरूका अनुसार बजारमा अहिले देखिएको अर्को समस्या नयाँ पैसा प्रवेश नगर्नु हो।
चुनावपछि स्थिर सरकार बन्ने र त्यससँगै सेयर बजारमा वृद्धि आउने अपेक्षामा कतिपय लगानीकर्ताले यसअघि नै ठूलो रकम बजारमा लगानी गरिसकेका थिए ।
त्यसैले बजार केही अंक बढे पनि पहिले नै लगानी गरिसकेका लगानीकर्ताबाट थप ठूलो रकम बजारमा प्रवेश हुन नसकेको ब्रोकरहरूको भनाइ छ ।
उद्योगी तथा व्यवसायीको पनि सेयर बजारमा उल्लेख्य सहभागिता रहे पनि उनीहरूले पछिल्लो समय थप लगानी बढाउन नसकेको बताइएको छ।
सरकारले करसम्बन्धी व्यवस्था स्पष्ट गर्ने, व्यवसायी तथा लगानीकर्तामाथिको अनुसन्धान प्रक्रियामा सुधार गर्ने र धितोपत्र बोर्डलाई थप अधिकार दिने विषय अघि सारेकाले उनीहरू पनि नयाँ नीतिगत व्यवस्थाको प्रतीक्षामा रहेको ब्रोकरहरूको भनाइ छ ।
मैनबत्ती चित्रले के देखाउँछरु
बुधबारको कारोबारमा नेप्सेमा दुवैतर्फ लामो धागो भएको रातो मैनबत्ती बनेको छ। प्राविधिक विश्लेषणमा यस्तो मैनबत्तीले बजार बढाउने र घटाउने पक्षबीच उच्च द्वन्द्व रहेको संकेत गर्छ ।
बुधबारको कारोबारमा भने घटाउने पक्ष केही हाबी भएको देखिएको छ।
पछिल्ला तीन कारोबार दिनका मैनबत्ती चित्रलाई एकै ठाउँमा राखेर हेर्दा पनि बजारको आगामी दिशाबारे स्पष्ट संकेत देखिँदैन। अहिलेसम्म बजारमा स्पष्ट रूपमा बढ्दो वा घट्दो प्रवृत्ति जनाउने कुनै निश्चित मैनबत्ती आकृति बनेको छैन ।
सोमबार नेप्सेमा लामो हरियो मैनबत्ती बनेको थियो। मंगलबार बजार अघिल्लो दिनको बन्द विन्दुभन्दा करिब ८२ अंक माथिबाट खुले पनि अन्त्यमा ४८ अंकको वृद्धिमा सीमित भएको थियो। मंगलबार अघिल्लो दिनको मैनबत्तीभन्दा दूरी राखेर लामो रातो मैनबत्ती बनेको थियो ।
बुधबार पनि रातो मैनबत्ती बनेको छ । तर कारोबारका क्रममा नेप्से २ हजार ६ सय ४ अंकसम्म झरेपछि पुनः माथि फर्किने प्रयास गरेको थियो ।
बजारबाट पैसा बाहिरिने दबाब कायमै
बुधबारको कारोबारमा बजारबाट पैसा बाहिरिने दबाबसमेत देखिएको छ ।
बुधबार एकुमुलेसन तथा डिस्ट्रिब्युसन अनुपात ६९ लाखले ऋणात्मक रहेको छ । मंगलबार नेप्से ४८ अंकले बढेको दिन पनि उक्त अनुपात ६३ लाखले ऋणात्मक थियो ।
बजार बढेको दिनसमेत एकुमुलेसन तथा डिस्ट्रिब्युसन अनुपात ऋणात्मक रहनुले बजार वृद्धिलाई नयाँ पुँजीको बलियो समर्थन नरहेको संकेत गर्ने प्राविधिक विश्लेषणमा उल्लेख हुन्छ ।
यसले पछिल्लो वृद्धिमा नयाँ लगानीको तुलनामा बजारभित्रै रहेको रकमको कारोबारको प्रभाव बढी हुन सक्ने देखाउँछ ।
अब बिहीबारको कारोबार निर्णायक
सरकारको पुँजी बजार सुधार कार्ययोजना, नयाँ पुँजीगत लाभकरको दर र त्यसको कार्यान्वयनबारे देखिएको अन्योल क्रमशः हट्दै गएमा त्यसको प्रभाव आगामी कारोबारमा देखिन सक्छ ।
तर संस्थागत लगानी तत्कालै प्रवेश गर्ने अवस्था नरहेको, नोक्सानी समायोजनको व्यवस्था अध्ययनकै चरणमा रहेको र नयाँ पुँजी बजारमा प्रवेश गर्ने गति कमजोर रहेको अवस्थामा बजारले कार्ययोजना घोषणाकै आधारमा लगातार ठूलो वृद्धि हासिल गर्ने निश्चित आधार भने देखिएको छैन ।
बुधबारको कारोबारपछि अब बिहीबार नेप्सेले दिने प्रतिक्रियालाई लगानीकर्ताले विशेष चासोका साथ हेरेका छन् । पछिल्ला तीन दिनको मैनबत्ती चित्रले स्पष्ट दिशा नदिएकाले आगामी कारोबारमा बजारको मूल्य तथा कारोबारको स्वरूपले छोटो अवधिको प्रवृत्ति निर्धारण गर्ने देखिन्छ ।


विश्व खबर 



















