काठमाडौं – सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई विद्युत् सेवामा तत्काल राहत दिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा बाढी प्रभावित ग्राहकलाई विद्युत् महसुल तथा मिटरसम्बन्धी सहुलियत उपलब्ध गराउने निर्णय गरिएको हो ।
मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार विपद्का समयमा प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत् सेवामा सहुलियत दिन लागिएको हो ।
मन्त्री श्रेष्ठले ‘छिमेकीलाई हाम्रो साथ’ भन्ने भावनाअनुसार अन्य ग्राहकबाट प्राप्त विद्युत् महसुलसमेत प्रभावित परिवारको राहतमा उपयोग हुने गरी आवश्यक निर्णय अघि बढाइएको जानकारी दिनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेका ग्राहकको हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत् महसुल नलिने निर्णय गरेको छ ।
त्यस्तै, बाढीका कारण क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योगलगायत संरचनाका विद्युत् मिटरको लगत कट्टा गरिने भएको छ ।
मिटरको लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः विद्युत् सेवा लिन नयाँ मिटर माग गरेमा प्राधिकरणले निःशुल्क मिटर उपलब्ध गराउने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
थप छुटबारे अध्ययन हुँदै
बाढी प्रभावित क्षेत्रका ग्राहकलाई विद्युत् महसुलमा थप सहुलियत वा छुट उपलब्ध गराउने विषयमा अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको छ ।
बाढीबाट प्रभावित १५ वटा स्थानीय तहमा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनको क्रममा रहेको छ । प्रभावित ग्राहकलाई महसुलमा कति सहुलियत वा छुट उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा अध्ययन गरी प्रस्ताव पेस गर्न प्राधिकरण व्यवस्थापनलाई भनिएको हो ।
प्राधिकरणले अध्ययनका आधारमा यसै साता प्रभावित ग्राहकलाई विद्युत् महसुलमा उपलब्ध गराइने थप सहुलियत तथा छुटको टुङ्गो लगाउने तयारी गरेको छ ।
बाढीका कारण विद्युत् पूर्वाधारसँगै घर, उद्योग, व्यवसाय तथा अन्य संरचनामा क्षति पुगेका नागरिकलाई विद्युत् सेवासँग सम्बन्धित तत्कालीन आर्थिक भारबाट समेत राहत दिलाउने उद्देश्यले सहजीकरण गरिएको सरकारले जनाएको छ ।


विश्व खबर 




















