काठमाडौं – सरकारले सेयर बजारमा लाग्ने अल्पकालीन पूँजीगत लाभकर घटाउने प्रस्ताव औपचारिक रूपमा पारित गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री स्वर्णीम वाग्लेले अघि सारेको पूँजीगत लाभकर घटाउने प्रस्ताव स्वीकृत गरेको हो ।
चालु आर्थिक वर्षको व्यवस्थाअनुसार एक वर्षभित्र सेयर बिक्री गरी प्राप्त नाफामा ७.५ प्रतिशत र एक वर्षभन्दा बढी समय होल्ड गरी बिक्री गर्दा प्राप्त नाफामा ५ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको थियो ।
नयाँ निर्णयअनुसार एक वर्षभित्र सेयर बिक्री गर्ने अल्पकालीन लगानीकर्ताले प्राप्त नाफामा अब ३.७५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्नेछ ।
एक वर्षभन्दा बढी समय सेयर राखेर बिक्री गर्ने दीर्घकालीन लगानीकर्ताका लागि भने ५ प्रतिशत करको दर यथावत् राखिएको छ ।
अर्थमन्त्री वाग्लेले सोमबार राति सार्वजनिक गरेको २१ बुँदे ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना’मा पूँजीगत लाभकर घटाउने विषयलाई बजारमा तत्काल प्रभाव पार्ने प्रमुख सुधारका रूपमा समेटिएको थियो ।
मन्त्रिपरिषद्बाट प्रस्ताव पारित भएसँगै कर कटौतीले सरकारी स्वीकृति पाएको छ । अब नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ ।
अल्पकालीन पूँजीगत लाभकर घटाउँदा लगानीकर्ताको कारोबार लागत कम हुने र दोस्रो बजारमा कारोबार तथा तरलता बढ्न सक्ने अपेक्षा गरिएको छ । साथै, लामो समयदेखि कमजोर रहेको लगानीकर्ताको मनोबल सुधारमा समेत यसले प्रभाव पार्ने अनुमान गरिएको छ ।
विशेषगरी अल्पकालीन कारोबारमा लाग्दै आएको ७.५ प्रतिशत कर घटेर ३.७५ प्रतिशतमा आएपछि सेयर बजारको कारोबार रकम र बजार गतिविधिमा सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ ।


विश्व खबर 



















