images
images
  • चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा तीन जनाको शव फेला

    काठमाडौं– रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा तीन जनाको शव फेला परेको छ । नेपाली सेनाको उद्धार टोलीले बुधबार सुरुङको अन्तिम भागसम्म खोजी गर्ने क्रममा तीन जनाको शव फेला पारेको हो ।

    नेपाली सेनाका अनुसार गोताखोरसहितको उद्धार टोलीले सुरुङभित्र खोजी गर्दा तीन जनाको शव फेला पारेको हो । फेला परेका शवमध्ये दुईवटा बाहिर निकालिएको छ भने अर्को शव निकाल्ने काम भइरहेको सेनाले जनाएको छ ।

    सुरुङभित्र थप व्यक्ति फसेका हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै खोज तथा उद्धार कार्य जारी राखिएको सेनाले जनाएको छ ।

    भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र केही व्यक्ति फसेका थिए । उनीहरूको खोज तथा उद्धारका लागि नेपाली सेनासहित स्वदेशी तथा विदेशी उद्धार टोली परिचालन गरिएको थियो ।

    उद्धार टोलीलाई सुरुङसम्म पुग्न सहज बनाउन चट्टान फोरेर करिब १ हजार ५० मिटर नयाँ बाटो निर्माण गरिएको थियो । सोही मार्ग हुँदै उद्धार टोली सुरुङको भित्री भागसम्म पुगेको थियो ।

    बाढीपछि लामो समयदेखि जारी खोज तथा उद्धार अभियानका क्रममा तीन जनाको शव फेला परेको हो । सुरुङभित्र थप खोजी तथा उद्धार कार्य भने जारी रहेको नेपाली सेनाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images