काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारका लागि तत्काल राहत प्याकेज घोषणा गरेको छ ।
बाढीका कारण १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदार बेपत्ता भएका छन् । प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता रहेको जनाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता कर्मचारी तथा कामदारका आश्रित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार राहत बेपत्ता व्यक्तिको खोजी कार्य, परिवारको सामाजिक संस्कार तथा दैनिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले उपलब्ध गराइनेछ ।
पहिलो चरणमा ५० हजार रुपैयाँ
बैठकले बेपत्ता भएका स्थायी कर्मचारी तथा ज्यालादारी र सेवा करारका कामदारका नजिकका हकवालालाई तत्काल ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै, स्थायी कर्मचारीका परिवारका लागि थप राहतको व्यवस्था गरिएको छ । प्राधिकरणबाट क्षतिपूर्ति वा अन्य रकम उपलब्ध गराउने सम्बन्धमा अर्को निर्णय नभएसम्म वा बढीमा छ महिनासम्म, बेपत्ता स्थायी कर्मचारीको नजिकका हकवालालाई सम्बन्धित कर्मचारीको तहको सुरु तलबमानको ५० प्रतिशत रकम निर्वाहका लागि उपलब्ध गराउने निर्णय गरिएको शाहीले बताए ।
यो व्यवस्था भदौ महिनादेखि लागू हुने जनाइएको छ ।
बैठकमा मन्त्री श्रेष्ठले बेपत्ता कर्मचारी तथा कामदारका परिवार सरकारको जिम्मेवारी भएको बताए ।
“हामी एउटै परिवार हौँ। यो पैसाले यत्रो ठूलो दुःखको घाउ निको पार्दैन, तर मल्हम लगाउने काम गरोस्,” मन्त्री श्रेष्ठले भने ।
भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेको तथा आयोजनामा कार्यरत कर्मचारी र कामदार बेपत्ता भएपछि प्राधिकरणले राहत तथा उद्धारलाई प्राथमिकतामा राखेको जनाएको छ ।


विश्व खबर 



















