काठमाडौं – बागमती प्रदेश सरकारअन्तर्गतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा सिँचाइ तथा नदी नियन्त्रणतर्फ ११० आयोजना सम्पन्न गरेको छ ।
कार्यालयका अनुसार सम्पन्न आयोजनामार्फत सिँचाइका लागि आरसिसी ढलानसहित १४ दशमलव ६० किलोमिटर कुलो निर्माण गरिएको छ । ती आयोजनाबाट थप १०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको कार्यालय प्रमुख प्रकाश तिमल्सिनाले जानकारी दिए ।
गत आर्थिक वर्षमा ७५ वटा सिँचाइ आयोजना सम्पन्न भएका थिए । यस्तै, नदी नियन्त्रणतर्फ ३७ वटा आयोजना, सौर्य तथा विद्युतीय ऊर्जा जडानतर्फ सात वटा आयोजना र स्पर निर्माणतर्फ १७ वटा आयोजना सम्पन्न भएका छन् ।
कार्यालयका अनुसार स्यालो तथा डिप ट्युबवेल चार वटा निर्माण भएका छन् भने पाँच किलोमिटर तटबन्ध निर्माण गरिएको छ ।
त्यसैगरी, एउटा सिँचाइ आयोजना मर्मत, कुलोमा पाइप जडानतर्फ एक दशमलव पाँच किलोमिटर काम तथा १७ मिटर पर्खाल निर्माण गरिएको छ । एउटा लिफ्ट सिँचाइ आयोजना भने निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले चालु आर्थिक वर्षमा २१ वटा आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । कार्यालयअन्तर्गत हालसम्म निर्माण तथा सम्पन्न भएका विभिन्न आयोजनाबाट जिल्लामा एक हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको जनाइएको छ ।
डिभिजन कार्यालयले जिल्लाका सबै स्थानीय तहमा सिँचाइ तथा जलस्रोतसम्बन्धी आयोजना सञ्चालन गर्दै आएको छ ।


विश्व खबर 



















