काठमाडौं – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२ दशमलव ५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ ।
साङ्ग्रिला हाइड्रोपावरले प्रवर्द्धन गर्ने आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी जुटेको हो ।
आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक लिमिटेड र नेपाल पूर्वाधार बैंकले सहवित्तीयकरणमार्फत ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन् ।
कुल लागतमा बाँकी १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ प्रवर्द्धकहरूले स्वपुँजीमार्फत जुटाउने भएका छन् ।
वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा साङ्ग्रिला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले जलविद्युत् आयोजना तोकिएको समयमै सम्पन्न गर्नु नै सबैभन्दा ठूलो उपलब्धि हुने बताए । समय र लागतबीच प्रत्यक्ष सम्बन्ध रहने उल्लेख गर्दै उनले आयोजना छिटो सम्पन्न हुँदा बैंक, लगानीकर्ता र सर्वसाधारणको विश्वास बढ्ने धारणा राखे ।
नेपालमा जलविद्युत् क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको बताउँदै उनले उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने सुनिश्चितता रहेकाले आयोजना निर्माणमा प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताए ।
आयोजनाका प्रबन्ध सञ्चालक कृष्णप्रसाद घिमिरेले बैंक तथा लगानीकर्तालाई धन्यवाद दिँदै आयोजना तोकिएको समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनका अनुसार समूहले यसअघि गोरखामा निर्माण गरेको ४ दशमलव ५५ मेगावाटको विकास हाइड्रोपावर आयोजना १८ महिनामै सम्पन्न गरेको थियो । उक्त कम्पनी सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणका लागि सेयर जारी गरी सूचीकृत भइसकेको छ ।
त्यस्तै, गोरखामै निर्माणाधीन ४ दशमलव ६ मेगावाटको बूढीगण्डकी हाइड्रोपावर आयोजनाको निर्माणसमेत ७० प्रतिशत पूरा भइसकेको र आगामी छ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
जाल्दीगाड जलविद्युत् आयोजना सुरुङमा आधारित आयोजनाका रूपमा निर्माण हुनेछ । आयोजनाको निर्माण अवधि ३३ महिना तोकिएको छ भने तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
जाल्दीगाड नदीमा निर्माण हुने आयोजनाबाट वार्षिक १३३ दशमलव ४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।
आयोजना सम्पन्न भएपछि रुकुम पश्चिमको विद्युत् उत्पादन क्षमता विस्तार हुनुका साथै स्थानीयस्तरमा रोजगारी र आर्थिक गतिविधिसमेत बढ्ने अपेक्षा गरिएको छ ।


विश्व खबर 



















