images
images
  • खल्ती र इनड्राइभबीच सहकार्य, चालक र यात्रुले दैनिक पुरस्कार जित्ने

    काठमाडौं – डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती र सवारीसाधन साझेदारी सेवा इनड्राइभबीच राइडको भाडा डिजिटल माध्यमबाट लिने–दिने व्यवस्था मिलाउन सहकार्य भएको छ ।

    सहकार्यअन्तर्गत चालक र यात्रुलाई लक्षित गरी तीनमहिने अभियान सञ्चालनमा ल्याइएको छ । अभियानमा इनड्राइभको राइड भाडा खल्तीमार्फत तिर्न तथा चालकले पनि भाडा खल्तीमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

    अभियानमा सहभागी चालक र यात्रुले दैनिक पुरस्कार जित्ने अवसरसमेत पाउनेछन् ।

    इनड्राइभका चालकले एक दिनमा कम्तीमा पाँचवटा राइडको भाडा खल्तीमार्फत प्राप्त गरेपछि सो दिनको भाग्यचिठ्ठामा सहभागी हुन सक्नेछन् । दैनिक १० जना चालकले पाँच लिटर पेट्रोल बराबरको रकम पुरस्कार पाउने कम्पनीले जनाएको छ ।

    यस्तै, यात्रुले इनड्राइभको राइड भाडा खल्तीमार्फत भुक्तानी गरेपछि सो दिनको भाग्यचिठ्ठामा स्वतः सहभागी हुनेछन् । यसका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन । अभियानअन्तर्गत दैनिक १० जना यात्रुले जनही रु. २०० बराबरको खल्ती मौज्दात पुरस्कार प्राप्त गर्नेछन् ।

    आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले दैनिक आवतजावतसँग जोडिएको राइड भुक्तानीलाई डिजिटल माध्यममा विस्तार गर्ने उद्देश्यले इनड्राइभसँग सहकार्य गरिएको बताए ।

    उनका अनुसार चालक र यात्रुलाई सहज डिजिटल भुक्तानीको वातावरण सिर्जना गर्दै डिजिटल भुक्तानीलाई दैनिक व्यवहारको हिस्सा बनाउन सहकार्यले सहयोग पुर्‍याउनेछ ।

    कम्पनीका अनुसार यो अभियान २०८३ भदौ २५ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images