काठमाडौं – खाना पकाउने एलपीजी ग्यास सिलिन्डर तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।उपभोक्ताले हेलो सरकारको वेब पोर्टलमा टिकट नम्बर एचएस डब्लूईबी८८ मार्फत ग्यास सिलिन्डरको मूल्य बढी लिइएको भन्दै गुनासो दर्ता गराएका थिए । उक्त गुनासोका आधारमा हेलो सरकारको समन्वयमा विभागको अनुगमन टोली सम्बन्धित स्टोरमा पुगेको थियो ।
अनुगमनका क्रममा कैफियत भेटिएपछि स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हेलो सरकारले जनाएको छ । हेलो सरकारले उपभोक्ताको गुनासोलाई विश्वास गरी जानकारी गराउने गुनासोकर्ता र तत्काल अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाएर सहकार्य गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई धन्यवाद दिएको छ । सरकारले उपभोक्ता ठगीमा परेको वा सार्वजनिक सेवा प्रवाहमा समस्या भोग्नुपरेको अवस्थामा हेलो सरकारको निःशुल्क फोन सेवा ११११ वा अनलाइन पोर्टलमार्फत गुनासो दर्ता गराउन आग्रह गर्दै आएको छ ।






















