images
images
  • उत्कृष्ट करदाता सम्मान पाउने भाटभटेनीकै कर बक्यौता देखिएपछि…

    काठमाडौं– भाटभटेनी सुपरमार्केटलाई सरकारले यस वर्ष पनि नियमित ‘उत्कृष्ट करदाता’ सम्मानको सूचीमा समावेश गरेको थियो। तर सम्मान कार्यक्रमको अन्तिममा सम्मान पाउने सूचीबाट भाटभटेनीको नाम एकाएक हटाइयो।

    आन्तरिक राजस्व विभागले अध्ययनका क्रममा भाटभटेनीको नाममा कर बक्यौता देखिएपछि उसको नाम सम्मान पाउने सूचीबाट एकाएक हटाइएको समाचार स्रोतले बतायो। कर बक्यौता देखिएपछि विवाद हुन सक्ने भन्दै ‘वस्तु व्यापारको कारोबार गर्नेमध्ये बढी आयकर दाखिला गर्ने’ विधाबाट भाटभटेनीलाई हटाइएको उसको भनाइ छ।

    कर बक्यौता बाँकी भएको विषय बाहिर आएपछि भने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले गुनासो पोखे। त्यसपछि अन्तिम समयमा सरकारले छुट्टै विशेष विधा थपेर भाटभटेनीलाई सम्मान गरेको बताइएको छ।

    जेनजी आन्दोलनका क्रममा भाटभटेनीले ठुलो क्षति व्यहोरेकाले त्यसैलाई आधार बनाएर ‘प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद उत्कृष्ट करदाता’ शीर्षकअन्तर्गत सम्मान प्रदान गरिएको थियो। यद्यपि उक्त क्षति २०८२ भदौमा भएको भए पनि सम्मान आर्थिक वर्ष २०८१/८२ का लागि प्रदान गरिएको छ।

    भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलले भने कम्पनीको कुनै कर बक्यौता नरहेको दाबी गरेका छन्। आन्तरिक राजस्व विभागको प्राविधिक समस्याका कारण यस्तो अवस्था उत्पन्न भएको उनको भनाइ छ।

    आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०६८/६९ सम्म ‘प्रोट्याक्ट’ प्रणाली प्रयोग गर्दै आएको थियो भने आर्थिक वर्ष २०६९/७० देखि एकीकृत कर प्रणाली (आईटीएस) लागू गरिएको थियो। त्यसपछि प्रोट्रयाक्ट जस्ता पुराना र छुट्टाछुट्टै प्रणालीहरूलाई विस्थापित गर्दै हाल विभागले एकीकृत कर प्रणाली र आधुनिक करदाता पोर्टलमार्फत सम्पूर्ण सेवा सञ्चालन गरिरहेको छ।

    पुरानो प्रणालीबाट नयाँ प्रणालीमा तथ्याङ्क सार्ने क्रममा कतिपय विवरण नमिलेको भन्दै व्यवसायीसँग विभागको विवाद कायमै छ। ठुला करदाता यो समस्यामा परेका छन् । विभागका एक अधिकारीका अनुसार पनि यो समस्या विगतदेखि नै कायम छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images