images
images
  • दुई महिनामै सरकारको राजस्व संकलन १ खर्ब ८४ अर्ब, पुँजीगत खर्च भने १.६८ प्रतिशत मात्रै

    काठमाडौं – चालू आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिनामा सरकारले १ खर्ब ८४ अर्ब ४२ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

    महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार भदौ ३० गतेसम्म संकलित राजस्व वार्षिक लक्ष्यको ११.२ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले १ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

    चालू आर्थिक वर्षमा सरकारले कुल १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । भदौ ३० गतेसम्म कुल राजस्वमध्ये १ खर्ब ७७ अर्ब ६६ करोड ४६ लाख रुपैयाँ संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ११.२४ प्रतिशत हो ।

    अनुदान प्राप्तिमा पनि सुधार

    चालू आर्थिक वर्षमा गैरकर राजस्व तथा वैदेशिक अनुदान प्राप्तिमा समेत सुधार देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा भदौ ३० गतेसम्म ५ अर्ब २५ करोड २६ लाख रुपैयाँ प्राप्त गरिसकेको छ ।

    यो कुल लक्ष्यको ८.५१ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ मात्रै वैदेशिक अनुदान प्राप्त गरेको थियो ।

    पुँजीगत खर्च १.६८ प्रतिशतमा सीमित

    राजस्व संकलनमा सुधार देखिए पनि विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने निकै न्यून देखिएको छ ।

    सरकारले चालू आर्थिक वर्षमा ४ खर्ब ३१ अर्ब ११ करोड ६३ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको छ । तर भदौ ३० गतेसम्म ७ अर्ब २६ करोड ६४ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो वार्षिक लक्ष्यको १.६८ प्रतिशत हो ।

    यद्यपि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पुँजीगत खर्च केही बढेको छ । गत आवको पहिलो दुई महिनामा ५ अर्ब २१ करोड ७९ लाख रुपैयाँ पुँजीगत खर्च भएको थियो ।

    चालू खर्च ९ प्रतिशत नाघ्यो

    प्रशासनिक तथा साधारणतर्फको चालू खर्च भने तुलनात्मक रूपमा उच्च देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

    भदौ ३० गतेसम्म १ खर्ब १४ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ चालू खर्च भइसकेको छ । यो वार्षिक लक्ष्यको ९.०२ प्रतिशत हो ।

    सरकारले चालू आर्थिक वर्षमा राजस्व परिचालन बढाउने तथा सार्वजनिक खर्चको प्रभावकारिता सुधार गर्ने लक्ष्य लिएको छ । तर आर्थिक वर्षको सुरुआती दुई महिनाको तथ्यांकमा राजस्व संकलनको तुलनामा पुँजीगत खर्चको गति निकै सुस्त देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images