काठमाडौं – राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस गरेको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सभापति रोकायाले उक्त प्रतिवेदन पेस गरेएको हो ।
उनका अनुसार भदौ १ गतेको राष्ट्रियसभा बैठकबाट दफावार छलफलका लागि विधेयक विधायन व्यवस्थापन समितिमा पठाइएको थियो । समितिले भदौ ८ गतेदेखि विधेयकमाथि छलफल सुरु गरेको थियो ।
समितिले विधेयकमाथि छलफलका क्रममा सम्बन्धित निकाय तथा नागरिक संस्थाका प्रतिनिधिसँग सुझाव लिएको थियो । प्राप्त सुझावका आधारमा विधेयकलाई थप परिमार्जन तथा समृद्ध बनाउँदै प्रतिवेदनलाई अन्तिम रूप दिइएको सभापति रोकायाले जानकारी दिए ।
विधेयकमा खाद्य, उपभोक्ता, स्वास्थ्य तथा वातावरणसँग सम्बन्धित मौलिक हकको संरक्षणका लागि आवश्यक व्यवस्था गरिएको उनले बताए ।
सङ्क्रामक पशु रोगको नियन्त्रण तथा त्यसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरणका लागि सम्बन्धित पक्षको भूमिका थप स्पष्ट बनाउने गरी समितिले विधेयकमा आवश्यक सुधार गरेको सभापति रोकायाले जानकारी दिए।
विधेयकसम्बन्धी छलफलमा नेपाल नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिलाई समेत सहभागी गराउने व्यवस्था गरिएको उहाँले बताए ।
समितिको छलफलबाट विधेयकलाई थप प्रभावकारी र व्यवहारिक बनाउँदै राष्ट्रियसभामा प्रतिवेदन पेस गरिएको सभापति रोकायाले बताए ।


विश्व खबर 



















