काठमाडौं – उद्यमी प्रसिद्धबहादुर पाण्डेले नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलर बराबरको आकारमा पुर्याउने योजना समेटिएको पुस्तक ‘प्रधानमन्त्री र समृद्धि’ सार्वजनिक गरेको छ ।
पूर्वाधार, दूरसञ्चार, औद्योगिक सहकार्य, लगानी, आतिथ्य तथा पर्यटन क्षेत्रमा तीन दशकभन्दा लामो समय काम गरेका पाण्डेले पुस्तकमा नेपालको आर्थिक सम्भावनालाई मापनयोग्य उपलब्धिमा रूपान्तरण गर्ने उपायबारे चर्चा गरेको छ ।
पाण्डे होटल संघ नेपालका पूर्वअध्यक्ष तथा हाल सांग्रिला आतिथ्य समूहका अध्यक्ष थियो । उहाँले नेपालमा अल्काटेल र मित्सुबिसीजस्ता अन्तर्राष्ट्रिय कम्पनी भित्र्याउन भूमिका खेरेको थियो । नेपालको दूरसञ्चार क्षेत्रको विकासमा समेत उनले योगदान पुर्याएको छ ।
पुस्तकमा नेपालको प्रमुख आर्थिक चुनौतीका रूपमा राष्ट्रिय प्रतिबद्धता र सम्भावनालाई उत्पादन, निर्यात, रोजगारी, लगानी तथा सार्वजनिक आम्दानीमा रूपान्तरण गर्न नसकिएको विषय उठाइएको छ ।
दक्षिण कोरिया, मलेसिया, भियतनाम, भुटान र सिङ्गापुरमा काम तथा अनुभवका क्रममा प्राप्त सिकाइलाई समेत पुस्तकमा समेटिएको छ ।
नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत र आर्थिक सम्भावनालाई दीर्घकालीन आर्थिक वृद्धिमा रूपान्तरण गर्न प्रभावकारी कार्यान्वयन र समन्वित शासन प्रणाली आवश्यक रहेको पाण्डेको निष्कर्ष छ ।
पुस्तक विभिन्न विद्युतीय पुस्तक पसल तथा विद्युतीय माध्यमबाट उपलब्ध भइसकेको जनाइएको छ ।
पाण्डेले पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण आम्दानी नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेको छ ।


विश्व खबर 



















