images
images
  • तीन दिनको वृद्धिपछि नेप्सेमा करेक्सन, २१ अंकले घट्यो

    काठमाडौं – लगातार तीन कारोबार दिन बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार भने २१.१९ अंकले घटेको छ । यससँगै नेप्से २ हजार ६१२.४२ विन्दुमा झरेर बन्द भएको छ ।

    पछिल्ला तीन कारोबार दिनमा नेप्से १०२.०६ अंकले बढेको थियो । बजारमा भएको वृद्धिपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेसँगै बुधबार बिक्री चाप बढेको हो ।

    यस दिन सेन्सेटिभ इन्डेक्स ३.७७ अंकले घटेको छ । फ्लोट इन्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३२ अंकले घटेका छन् ।

    कारोबार रकममा पनि कमी आएको छ । मंगलबार ८ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा बुधबार ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

    बुधबार ३५० कम्पनीका १ करोड ५१ लाख १ हजार कित्ता शेयर ५५ हजार ८३१ पटकको कारोबारबाट खरिदबिक्री भएका छन् ।

    नारायणी विकास बैंकको शेयरमूल्य बढ्यो

    बुधबार नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशतले बढेको छ । हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य पनि करिब साढे ५ प्रतिशतले बढेको छ ।

    यस दिन एनएमबी हाइब्रिड फन्ड एल–२ को इकाइमूल्य सर्वाधिक ७.७३ प्रतिशतले घटेको छ । रिज लाइन इनर्जीको शेयरमूल्य पनि ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

    हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार

    कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

    रिलायन्स स्पिनिङ मिल्सको २५ करोड रुपैयाँभन्दा बढी र शिवम् सिमेन्टको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    १३ वटै उपसमूहमा गिरावट

    बुधबार नेप्सेका सबै १३ उपसमूहको परिसूचक घटेका छन् । जलविद्युत उपसमूह १.०४ प्रतिशतले घटेर सबैभन्दा ठूलो गिरावट भएको उपसमूह बनेको छ ।

    जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी र निर्जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशतले घटेको छ ।

    पछिल्ला तीन कारोबार दिनमा भएको उल्लेख्य वृद्धिपछि बुधबार बजारमा आएको गिरावटलाई नाफा सुरक्षित गर्ने क्रमसँग जोडिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images