images
images
  • देउवाबाट छुट्टिएका पूर्णबहादुरसहित ३१ नेता वडा अधिवेशनमा सहभागी हुने निर्णय

    काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट करिब ३१ जना निवर्तमान केन्द्रीय सदस्य असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुने भएका छन् ।

    सोमबार खड्का निवास गोल्फुटारमा भएको छलफलपछि संस्थापन पक्षसँग राखिएका अधिकांश माग सम्बोधन भएको भन्दै नेताहरू अधिवेशन प्रक्रियामा सहभागी हुने निष्कर्षमा पुगेका हुन् ।

    तर, खड्का स्वयं भने तत्काल कुनै पनि अधिवेशनमा सहभागी नहुने पक्षमा छन् ।

    विशेष महाधिवेशनविरुद्ध सर्वोच्च अदालतमा पुनरवलोकनको मागसहित रिट दायर गरेको र मुद्दा विचाराधीन रहेकाले आफू अधिवेशनमा सहभागी हुन नमिल्ने उनको धारणा छ ।

    निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले आफूहरू वडा अधिवेशनमा सहभागी हुने पुष्टि गरे ।

    खड्कानिकट नेताहरूले भने वडा अधिवेशनमा सहभागी भएपछि छोटो अवधिका लागि केन्द्रीय समितिमा जाने कि नजाने भन्ने निर्णय अझै भइनसकेको बताएका छन् ।

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनमा सहभागी हुने विशेष महाधिवेशनका केन्द्रीय सदस्यलाई हालको केन्द्रीय सदस्यसरह हैसियत दिने निर्णय गरेको छ ।

    निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनासहितका नेताहरूले पार्टी एकताका लागि दुवै पक्षबीच सहमतिको पहल जारी राख्ने बताएका छन् ।

    उनीहरूले सबै नेताको सहभागितामा एकीकृत रूपमा महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।

    यसैबीच कांग्रेसभित्र शेरबहादुर देउवा र गगन थापा पक्षबीच महाधिवेशनलाई लिएर विवाद कायम छ ।

    देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्वमा समानान्तर गतिविधि अघि बढाएको छ भने गगन थापा नेतृत्वको पक्षले आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images