काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ६ असोजमा संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन न्युयोर्क जानुअघि सरकारले २१ देशमा राजदूत नियुक्तिको सिफारिस गर्ने तयारी गरेको छ ।
सरकारले खुला प्रतिस्पर्धाबाट १३ र परराष्ट्र मन्त्रालयका सहसचिवमध्येबाट आठ देशका लागि राजदूत सिफारिस गर्न लागेको हो ।
गत जेठमा १३ देशका लागि खुला आवेदन मागिएकामा करिब २७ सय जनाले आवेदन दिएका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
आवेदन दिएका उम्मेदवार र परराष्ट्रबाट छनोट हुने सहसचिवमध्येबाट दुई चरणमा वा एकैपटक नियुक्ति सिफारिस गर्ने विषयमा छलफल भइरहेको छ ।
गत असोजमा फिर्ता बोलाइएका राजदूतको ठाउँमा बेलायत, अमेरिका, चीन, रुस, कतार, साउदी अरेबिया, इजरायल, स्पेन, जर्मनी, मलेसिया, जापान, भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया र ओमानलगायत देशमा राजदूत पद रिक्त छन् ।
बंगलादेश, बहराइन, म्यानमार, अस्ट्रिया र इजिप्टमा कार्यकाल सकिएका राजदूत पनि नयाँ नियुक्तिको प्रतीक्षामा छन् ।
सरकारले भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरेबियाका लागि खुला आवेदन मागेको थियो ।
आवेदन दिनेमा प्राज्ञिक, कूटनीतिक तथा प्रशासनिक क्षेत्रका व्यक्तिसहित सुरक्षा निकायका अवकाशप्राप्त अधिकारीसमेत छन् ।
राजदूतका लागि नेपाली नागरिक, कम्तीमा ३५ वर्ष उमेर, स्नातक उत्तीर्ण तथा नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
राजदूतको कार्यकाल चार वर्षको हुनेछ ।






















