images
images
  • कोरलानाकाबाट १५ दिनमै एक अर्ब ७८ करोड राजस्व संकलन

    काठमाडौं– रसुवाको रसुवागढी–केरुङ र तातोपानी नाका बाढीपहिरोका कारण पूर्ण रूपमा बन्द भएपछि चीनसँगको उत्तरी कोरलानाकाबाट हुने मालवस्तुको आयात ह्वात्तै बढेको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

    भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनबाट आउने मालवस्तुको आयात कोरलानाकातर्फ केन्द्रित भएको हो ।

    उनका अनुसार भदौ २२ गतेपछि कोरलानाकाबाट दैनिक औसत ३० करोड रुपैयाँ हाराहारी राजस्व संकलन भइरहेको छ ।

    शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले २७ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सो दिन ७१ वटा कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरी गन्तव्यतर्फ पठाइएको भन्सार प्रमुख चुडालले जानकारी दिए ।

    रसुवागढी नाका भदौ १० गतेदेखि बन्द भएपछि भदौ २५ गतेसम्म कोरलानाकाबाट नेपाल भित्रिएका ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको छ ।

    चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर तथा विद्युतीय सवारीसाधनको भन्सार जाँचपासबाट दुई अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

    भदौ ९ गतेसम्म भने कोरलानाकाबाट १३३ वटा कन्टेनर र १६३ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए । त्यसयता नाकाबाट हुने आयातमा उल्लेख्य वृद्धि भएको देखिएको छ ।

    उपल्लो मुस्ताङका नागरिकका लागि मात्र बाह्रै महिना खुला रहने गरेको कोरलानाका गत वर्ष तातोपानी र रसुवागढी नाकामा आएको बाढीपहिरो तथा नदी कटानका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक निकासी तथा पैठारी नाकाका रूपमा विस्तार गरिएको हो ।

    नेपाल सरकारले गत वर्ष भदौ ३१ गतेदेखि कोरलानाकालाई वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा ल्याएको थियो ।

    भन्सार प्रमुख चुडालका अनुसार आर्थिक वर्ष २०८२र८३ मा उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारी कारोबारबाट मुस्ताङ भन्सार कार्यालयले छ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

    सो अवधिमा पैठारीतर्फ १४ अर्ब ४१ करोड रुपैयाँ र निकासीतर्फ २० करोड ५० लाख रुपैयाँ बराबरको मालवस्तुको कारोबार भएको थियो ।

    त्यस्तै, गत आर्थिक वर्षमा कोरलानाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन र एक हजार ८७३ वटा कन्टेनरको भन्सार जाँचपास गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images