images
images
  • हाथवे इन्भेष्टमेन्टले दुई क्षेत्रमा ४० करोड लगानी गर्ने

    काठमाडौं– हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लगानी विविधीकरण गर्ने रणनीतिअनुसार चिनी उद्योग र जलविद्युत् क्षेत्रमा गरी कुल ४० करोड रुपैयाँ दीर्घकालीन लगानी गर्ने भएको छ ।

    कम्पनीको २३५औँ सञ्चालक समितिको बैठकले विजय श्री सुगर मिल्स लिमिटेड र भिजन टेस्ला पावर प्रालिले प्रवर्द्धन गरेको जलविद्युत् आयोजनामा संस्थापक सेयर खरिदमार्फत लगानी गर्ने निर्णय गरेको हो ।

    निर्णयअनुसार हाथवेले विजय श्री सुगर मिल्सको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ। यसका लागि कम्पनीले अधिकतम २५ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ ।

    त्यस्तै, सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माण भइरहेको २४।९२१ मेगावाट क्षमताको इन्दुवा खोला जलविद्युत् आयोजनामा १५ करोड रुपैयाँ लगानी गरिने भएको छ ।

    त्यसका लागि प्रतिसेयर १०० रुपैयाँका १५ लाख कित्ता संस्थापक सेयर खरिद गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

    हाथवेले लगानीलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने उद्देश्यले चिनी उद्योग र ऊर्जा क्षेत्रमा लगानी गर्न लागेको जनाएको छ ।

    कम्पनी सचिव सुधा अर्यालका अनुसार लगानीसम्बन्धी निर्णयको जानकारी नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई गराइसकिएको छ।

    ४० करोडको यो लगानीमध्ये २५ करोड रुपैयाँ चिनी उद्योग र १५ करोड रुपैयाँ जलविद्युत् क्षेत्रमा जानेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images