काठमाडौं– चर्चित पत्रकार प्रेम बानियाँले जेन–जी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा राजनीतिक नेतृत्वप्रति तीखो प्रश्न उठाउँदै अब पनि पुरानै शैलीको राजनीति दोहोर्याउने कि देश निर्माणमा लाग्ने भन्ने प्रश्न गरेका छन् ।
बानियाँले सामाजिक सञ्जालमार्फत ‘जेने–जी विद्रोहको एक वर्ष’ पुगेको उल्लेख गर्दै लेखेका छन्, ‘भाग्ने हेलिकोप्टर पनि नपाइएला है !’
उनले देश–सत्ताको ‘तालाचाबी’ लिएका राजनीतिक नेतृत्वलाई लक्षित गर्दै अब पुराना पुस्तालाई धम्क्याउने र गाली गर्ने, ३५ वर्षलाई सराप्ने, राष्ट्रिय सभा, संघ वा पालिकाहरूलाई हेप्ने तथा राष्ट्रपतितिर चोर औँला तेस्र्याउने काम बन्द गर्ने कि नगर्ने भन्दै प्रश्न गरेका छन् ।
त्यसैगरी, बानियाँले बहुमत दिएका जनतालाई गाली गर्न, बहाना बनाउन र जनतालाई झुक्याउन बन्द गर्ने कि नगर्ने भन्दै प्रश्न गर्दै ‘अब त देश बनाउन सुरू गर्ने कि ? अब त आफैँ सोच्ने कि ? कि अझै केही बाँकी छ ?’ भनेर राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
उनले नयाँ पुस्ताबाट प्राप्त शक्तिलाई सही दिशामा प्रयोग गर्न पनि आग्रह गरेका छन् । ‘यत्रो शक्ति प्राप्त गरेर पनि तीव्र गतिमा काम गरेनौँ भने साथीहरू तिमीहरूले त ‘भाग्ने हेलिकप्टर’ पनि नपाउलाउ है, विचारै गरेर काम गर । इतिहासकै विशाल अवसर छ, उपयोग गर,’ उनले लेखेका छन् ।
बानियाँ लामो समयदेखि खोजमूलक तथा अनुसन्धानात्मक पत्रकारितामा परिचित नाम हुन् । उनको आफ्नै परिचयमा पनि पत्रकारिता, सामाजिक अभियान र ‘जय स्वाभिमान’ लगायतका अभियानलाई प्राथमिकताका साथ अघि बढाउँदै आएका छन् ।
समग्रमा, बानियाँको पछिल्लो अभिव्यक्तिले जेन–जी आन्दोलनपछि प्राप्त राजनीतिक अवसरलाई पुरानै आरोप–प्रत्यारोपमा खर्च नगरी परिणाममुखी काममा बदल्नुपर्ने सन्देश दिएको छ ।





















