काठमाडौं– पूर्वप्रधानमन्त्री (अन्तरिम मन्त्रिपरिषद्की अध्यक्ष) सुशीला कार्कीले गत वर्षको जेन–जी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सुशासन, जवाफदेहिता र नागरिक सम्मानबारे स्पष्ट सन्देश दिएको बताएकी छन् ।
जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा धारणा सार्वजनिक गर्दै कार्कीले सुशासन र परिवर्तनका लागि जनता पुन: सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सरकार र राजनीतिक नेतृत्वले जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिएकी हुन् ।
उनले गत वर्ष भदौ २३ गते नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको माग गर्दै सडक तथा डिजिटल माध्यमबाट आवाज उठाएको स्मरण गर्दै उक्त आवाज दबाउने क्रममा निर्दोष युवाहरूले ज्यान गुमाउनुपरेको र धेरै युवा जीवनभर अपांगताको पीडा बेहोर्नुपर्ने गरी घाइते भएको उल्लेख गरेकी छन् ।
कार्कीले आन्दोलनका क्रममा सहिद भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।
आन्दोलनका क्रममा भएको निजी तथा सार्वजनिक सम्पत्तिको क्षति र राष्ट्रिय सम्पदा तथा धरोहरको विनाशलाई उनले राष्ट्रको जीवनमा परेको गहिरो घाउका रूपमा चित्रण गरेकी छन् । अब त्यस्तो अवस्था दोहोरिन नदिन सबै पक्षले इमानदार, जिम्मेवार र चनाखो भएर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
‘जेन–जी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ’ भन्दै कार्कीले संसदीय बहुमत मात्रले राजनीतिक स्थायित्व सुनिश्चित गर्न नसक्ने धारणा राखेकी छन् । उनका अनुसार राजनीतिक स्थायित्व संसदीय गणितभन्दा पनि शासकको चरित्र र कार्यशैलीमा निर्भर हुन्छ ।
उनले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, विधिको शासन स्थापित गर्ने तथा नागरिकको सम्मान सुनिश्चित गर्ने दिशामा सरकारले प्रभावकारी काम गर्नुपर्ने अपेक्षा व्यक्त गरेकी छन् ।
यसैबीच, जेन–जी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै मुलुकले भोटेकोसी बाढीको अर्को पीडादायी अवस्था सामना गरिरहेको कार्कीले उल्लेख गरेकी छन् ।
विपद्को यस घडीमा धैर्य, जिम्मेवारी र राष्ट्रिय एकता आवश्यक रहेको भन्दै उनले एकअर्काको सहारा बन्दै पीडामा मल्हम लगाउन र ऐक्यबद्ध भएर विपद्को सामना गर्न सबैसँग आग्रह गरेकी छन् ।






















