images
images
  • संघीयता स्थापना भएयता कोशीमा बने ११८ मन्त्री, खर्च हुन सकेन ८३ अर्ब बजेट

    विराटनगर– कोशी प्रदेशमा स्थापनाको साढे आठ वर्षमा नौ पटक मुख्यमन्त्री परिवर्तन हुँदा ११८ जना मन्त्री बनेका छन् ।

    सरकार गठन, पुनर्गठन र मन्त्रालय हेरफेरको क्रमले प्रदेशको राजनीतिक अस्थिरता बढाएको तथ्यांकले देखाएको छ ।

    प्रदेश स्थापनादेखि हालसम्म ६ जना व्यक्ति मुख्यमन्त्री बनेका छन् ।

    एमालेका हिक्मत कार्की तीन पटक र कांग्रेसका उद्धव थापा दुई पटक मुख्यमन्त्री बने ।

    दोस्रो प्रदेश सभा कार्यकालमा मात्रै ६७ जना सांसद मन्त्री र १४ जना राज्यमन्त्री बनेका छन् ।

    राजनीतिक अस्थिरतासँगै बजेट कार्यान्वयन पनि कमजोर देखिएको छ ।

    नौ आर्थिक वर्षमा प्रदेशले कुल २ खर्ब ९७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि २ खर्ब १३ अर्ब ४२ करोड रुपैयाँ मात्रै खर्च गर्न सकेको छ ।

    करिब ८३ अर्ब ८५ करोड रुपैयाँ, अर्थात् २८ प्रतिशत हाराहारी बजेट खर्च हुन सकेन ।

    औसत बजेट कार्यान्वयन दर ७१.७९ प्रतिशत रहेको छ ।

    प्रदेशसभाले हालसम्म ९० वटा कानून बनाए पनि आवश्यक नियमावली, कार्यविधि र मापदण्डको अभावमा धेरै कानून प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।

    प्रदेश प्रहरी गठन र लगानी प्रवर्द्धनसम्बन्धी कानूनी व्यवस्था पनि कार्यान्वयनको कमजोरीबाट प्रभावित छन् ।

    यस्तै, पछिल्ला वर्षमा वित्तीय अनुशासनमाथि समेत प्रश्न उठेको छ ।

    विशेषगरी भौतिक पूर्वाधार विकास मन्त्रालयमा बेरुजु र म्याद नाघेको पेस्कीको समस्या बढी देखिएको छ ।

    आन्तरिक राजस्वतर्फ पनि प्रदेशले लक्ष्य भेट्न सकेको छैन ।

    आर्थिक वर्ष २०८२÷०८३ मा ५ अर्ब ५० करोड रुपैयाँ लक्ष्य राखिएकोमा ४ अर्ब ७० करोड ८४ लाख रुपैयाँ मात्रै उठेको छ ।

    यसले प्रदेशको आफ्नै स्रोत परिचालन अझै कमजोर रहेको देखाउँछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images