images
images
  • पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने वा थप पीडा दिनेहरूमाथि सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

    काठमाडौं– बाढी प्रभावित नुवाकोटको विदुर–१०, बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेपछि प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्दै ‘आफूलाई एक्लो नठान्न’ आग्रह गरेका छन् ।

    शनिबार साँझ सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री साहले चन्द्रिका श्रेष्ठको उद्धारले खोज तथा उद्धारमा सरकार अझै दृढतापूर्वक लागिरहेको सन्देश दिएको बताएका छन् । उनले बाढीका कारण घर, जायजेथा, आफन्त र जीवनभरको कमाइ गुमाएका ज्येष्ठ नागरिकको पीडिप्रति राज्य संवेदनशील रहेको उल्लेख गरेका छन् ।

    बाढीबाट प्रभावित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका ज्येष्ठ नागरिकमध्ये सात जनालाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयरमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अस्थायी आश्रय दिइएको प्रधानमन्त्रीले जानकारी दिएका छन् । उहाँहरूलाई ह्वीलचियर तथा वाकर उपलब्ध गराउनुका साथै स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्शसमेत दिइरहेको उनको भनाइ छ ।

    प्रधानमन्त्री साहले ज्येष्ठ नागरिकको अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर छिट्टै सुरक्षित बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    ‘हजुरहरूले आफूलाई एक्लो नठान्नु होला । जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं,’ प्रधानमन्त्री साहले भनेका छन्, ‘हजुरहरूसँग यो राज्य छ, यो सरकार छ ।’

    उनले बाढीमा ज्यान गुमाएका ज्येष्ठ नागरिकसहित सबैप्रति सामूहिक श्रद्धाञ्जली अर्पण गर्दै आफन्त गुमाएका नागरिकको आक्रोशलाई स्वाभाविक पीडाको अभिव्यक्ति भएको बताएका छन् । पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने वा थप पीडा दिनेहरूमाथि सरकार निर्मम हुने चेतावनीसमेत दिएका छन् ।

    प्रधानमन्त्रीले बाढीपछिको भग्नावशेष र दलदलमा अझै पनि आफ्नो ज्यान जोखिममा राखेर खोजी तथा उद्धारमा खटिरहेका सुरक्षाकर्मीप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूको आत्मबल बढाउनु सबैको कर्तव्य भएको बताएका छन् ।

    अन्त्यमा उनले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्दै भनेका छन्, ‘हामीमाथि भरोसा राख्नुहोस् ।’

    यस्तो छ, प्रधानमन्त्रीको ब्रिफिङ–

    प्रतिक्रिया दिनुहोस्
    images
    images