images
images
  • पहिरोले कर्णाली करिडोर अवरुद्ध

    बाजुरा- गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ ।

    बाजुराको जगन्नाथ गाउँपालिका-५ भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार हिमाली गाउँपालिका-७ बाधु र जगन्नाथ गाउँपालिका-५ मा माथिबाट आएको पहिरोले सडकखण्ड अवरुद्ध भएको छ ।

    कर्णाली करिडोरअन्तर्गत बाधुमा आएको पहिरो पिएस कन्स्ट्रक्सनको जेसिबी प्रयोग गरी हटाएर खुलाइए पनि जगन्नाथको भुकाह खोलामा पनि पहिरो खस्दा सडक अवरुद्ध भएको उनले जानकारी दिए ।

    सडक अवरोध खुलाउन प्रहरीचौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

    सडक अवरुद्ध हुँदा गन्तव्य स्थानतर्फ जाने सवारीसाधन बाटोमा रोकिएका छन् ।

    अहिले जगन्नाथ गाउँपालिकाको जेसिबी प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको सूचना अधिकारी भाटले बताए ।

    लगातारको वर्षाका कारण कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images