काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा पक्ष र संस्थापन पक्षबीचको विवाद थप चर्किएको छ ।
देउवा पक्षले आगामी मंसिरमा छुट्टै १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि संस्थापन पक्षले उनीहरूमाथि अनुशासनको कारबाही अघि बढाउने तयारी गरेको हो ।
कांग्रेस अनुशासन समितिको बिहीबार बसेको बैठकमा देउवा, शशांक कोइरालालगायत नेताका गतिविधि र अभिव्यक्तिमाथि छलफल भएको छ ।
समितिले केन्द्रदेखि जिल्ला तहसम्म भएका भेला, अभिव्यक्ति तथा सञ्चारमाध्यममा आएका सामग्रीसमेत संकलन गरिरहेको जनाएको छ ।
अनुशासन समिति संयोजक तारामान गुरुङले विधान र पार्टी नीतिविपरीत जाने सबैलाई कारबाहीको दायरामा ल्याइने बताए ।
उनका अनुसार आवश्यकताअनुसार स्पष्टीकरण, निलम्बनदेखि निष्कासनसम्मको कारबाही हुन सक्छ ।
‘विधानविपरीत जाने सबैलाई कारबाहीको दायरामा ल्याउँदै छौँ,’ गुरुङले भने, ‘पार्टीको अनुशासनमा नबस्नेले अनुशासनको कारबाही भोग्नुपर्छ ।’
यसैबीच देउवा पक्षले चुनदेवीस्थित सम्पर्क कार्यालयमा भएको बैठकबाट छुट्टै महाधिवेशनको कार्यतालिका पारित गरेको छ ।
जसअनुसार २१, २२ र २३ मंसिरमा काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय भएको छ ।
कार्यतालिकाअनुसार १५ असोजमा वडा, २० असोजमा पालिका, २३ असोजमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय, १५ कात्तिकमा जिल्ला र ४ मंसिरमा प्रदेश अधिवेशन गर्ने निर्णय गरिएको छ ।
देउवा पक्षले अधिवेशनका लागि सातै प्रदेश र ७७ जिल्लामा तयारी समिति गठन गर्ने तथा निर्वाचन अधिकृत खटाउने निर्णयसमेत गरेको छ ।
साथै प्रदेश र स्थानीय तहका आगामी निर्वाचनमा छुट्टै उम्मेदवार उठाउने प्रक्रिया अघि बढाउने निर्णय गरिएको सचिवालय संयोजक दीपक कुइँकेलले जानकारी दिए ।
कांग्रेस विधानले पार्टीको नीति, विधान र आचारसंहिताविपरीत गतिविधि गर्नुलाई अनुशासन उल्लंघन मानेको छ ।
यही व्यवस्थालाई आधार बनाएर संस्थापन पक्षले देउवा पक्षमाथि कारबाहीको तयारी गरिरहेको हो ।
यससँगै कांग्रेसको आन्तरिक विवाद महाधिवेशनको मिति र नेतृत्वको विवादबाट अघि बढेर पार्टीको वैधानिकता, संगठन र आगामी निर्वाचनसम्म पुग्ने संकेत देखिएको छ ।






















