images
images
  • ग्यासको विकल्प खोज्दै हुनुहुन्छ ? इन्डक्सन किन्दा यी कुरा नछुटाउनुहोस्

    काठमाडौं– ग्यासको अभाव र बढ्दो मूल्यका कारण विद्युतीय इन्डक्सन चुल्हो प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । नेपालमा जलविद्युत् उत्पादन बढिरहेका बेला इन्डक्सनलाई ग्यासको किफायती र सुरक्षित विकल्पका रूपमा लिन थालिएको छ ।

    तर इन्डक्सन किन्नुअघि केही महत्वपूर्ण कुरा भने ख्याल गर्नुपर्छ । कम्तीमा २ हजार वाट क्षमताको, २३० भोल्टमा चल्ने चुल्हो रोज्नु उपयुक्त हुन्छ । घरको विद्युतीय तार, मिटर र मुख्य स्विचले इन्डक्सनको भार धान्न सक्छ कि सक्दैन भन्ने पनि प्राविधिकसँग जाँच गर्नुपर्छ ।

    इन्डक्सनमा फलाम, कास्ट आइरन वा इन्डक्सनमा चल्ने स्टेनलेस स्टिलका भाँडा मात्र प्रयोग गर्न मिल्छ । भाँडोको पिँधमा चुम्बक टाँसिएमा त्यो इन्डक्सनमा चल्ने सम्भावना हुन्छ ।

    चुल्हो किन्दा बलियो काँच, तामाको क्वाइल, विभिन्न शक्ति तह, भाँडो पहिचान, बढी तापक्रमबाट सुरक्षा र आफैँ बन्द हुने प्रणाली भएका मोडेललाई प्राथमिकता दिनु राम्रो हुन्छ ।

    त्यस्तै, धेरै भार पर्ने भएकाले एक्स्टेन्सन तार प्रयोग नगरी छुट्टै बलियो विद्युतीय जडान गर्नु सुरक्षित मानिन्छ । भान्छामा हावा आवतजावत हुने ठाउँ र चुल्होको वरिपरि पर्याप्त खाली स्थान पनि हुनुपर्छ ।

    सस्तो मूल्य मात्र हेरेर अपरिचित ब्रान्ड किन्नुभन्दा कम्तीमा एकदेखि दुई वर्षको वारेन्टी र स्थानीय मर्मत सेवा उपलब्ध भएको चुल्हो रोज्दा दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो हुन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images