काठमाडौं– एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन् ।
गत वर्ष कात्तिक १५ गतेदेखि सीईओको जिम्मेवारी सम्हालेका फोलेले भदौ ९ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।
एनसेल सञ्चालक समितिले फोलेको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओ नियुक्त नभएसम्मका लागि हाल प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ ।
श्रेष्ठलाई आवश्यक ‘लिमिट अफ अथोरिटी’ समेत प्रदान गरिएको छ ।
यसैगरी, एनसेलले उच्च व्यवस्थापनमा नेपाली सेनाका पूर्व मेजर जनरल सन्तोषकुमार ढकाललाई ‘चिफ अफ स्टाफ’को जिम्मेवारी दिएको छ ।
कर्पोरेट कम्युनिकेसन तथा सस्टेनिबिलिटी निर्देशक विशाखा लक्ष्मी खड्कालाई एनसेल फाउन्डेसनको निर्देशक बनाइएको छ ।
एनसेलले व्यवस्थापनमा भएको फेरबदलबारे भदौ १६ गते नै नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी गराइसकेको छ ।
प्राधिकरणका एक अधिकारीले एनसेलको सीईओ फेरिएको विषयमा पत्र प्राप्त भइसकेको पुष्टि गरेका छन् ।
पछिल्लो समय सरकारको स्वामित्वमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसेललाई बिक्री गरेको विषयमा बैंक र एनसेलका अधिकारीविरुद्ध मुद्दा दायर भएको छ ।
मुद्दाकै कारण नेपालमा बसेर काम गर्ने अवस्था नभएपछि फोलेले राजीनामा दिन बाध्य भएको बुझिन्छ ।
तर, केही समयअघि नेपाल आएर कार्यालय गएका फोलेले सहकर्मीहरूलाई पारिवारिक दायित्वका कारण जिम्मेवारी छोड्न लागेको बताएका थिए ।


विश्व खबर 




















