images
images
  • नबिल बैंकको ऋणपत्र निष्कासनको बिक्री प्रबन्धक बन्यो ग्लोबल आईएमई क्यापिटल

    काठमाडौं– नबिल बैंक लिमिटेडले ‘५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३’ नामको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

    सो ऋणपत्र निष्कासनका लागि बैंकले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । त्यससम्बन्धी सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दीप लुइँटेलले हस्ताक्षर गरेका छन् ।

    बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५ प्रतिशत ब्याजदरमा ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । यसबाट कुल ४ अर्ब रुपैयाँ ऋणपुँजी जुटाउने बैंकले जनाएको छ ।

    कुल ऋणपत्रमध्ये २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट बिक्री गरिनेछ ।

    यस्तै, १६ लाख कित्ता अर्थात् १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ । यसमध्ये ५ प्रतिशत ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ ।

    नबिल बैंक निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकमध्ये एक हो । बैंकले देशभर रहेका २६३ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images