काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख २७ हजार ७ सय ७६ रुपैयाँ सहयोग गरेको छ ।
बाढीबाट प्रभावित नागरिकका लागि पोखराको लेकसाइड क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका रेवान पोखरासँग आबद्ध रेस्टुरेन्ट तथा क्याफे व्यवसायी, संस्थाका पदाधिकारी तथा सदस्यहरूको सहकार्यमा रकम सङ्कलन गरिएको हो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत व्यवसायी, पदाधिकारी तथा सदस्यहरूको सहकार्यमा राहत रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिनुभयो ।
उहाँले विपद्का समयमा व्यवसायसँगै समाजप्रतिको दायित्व पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।
“विपद्को समयमा व्यवसायसँगै समाजप्रतिको दायित्व पनि उत्तिकै रहन्छ । धेरै नागरिक अहिले पीडामा हुनुहुन्छ । यस्तो अवस्थामा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सक्दो सहयोग गरेका हौँ,” अध्यक्ष पौडेलले भन्नुभयो ।
रेवान पोखराले विपद्मा परेका नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको भन्दै आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक तथा मानवीय कार्यमा सहकार्य गर्ने जनाएको छ ।


विश्व खबर 




















