images
images
  • इरान–अमेरिका युद्धले सेयर मार्केटमा गिरावट, लगानीकर्ता त्रसित

    काठमाडौं– मध्यपूर्वमा पुनः बढेको सैन्य तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ ।

    इरानी लक्ष्यमा अमेरिकाले गरेको पछिल्लो सैन्य कारबाहीले लगानीकर्तामाझ भूराजनीतिक जोखिम र ब्याजदर वृद्धिको चिन्ता थप बढाएको हो ।

    सोमबारको कारोबारमा डाउ जोन्स औद्योगिक औसत ३७४.०९ अंक अर्थात् ०.७ प्रतिशतले घटेर ५३ हजार १८५.९ अंकमा बन्द भयो ।

    त्यस्तै, एस एन्ड पी ५०० २५.६२ अंक अर्थात् ०.३३ प्रतिशतले घटेर ७ हजार ६८६.१४ अंकमा पुग्यो ।

    नास्डाक समग्र सूचक पनि ३१.५३ अंक अर्थात् ०.१२ प्रतिशतले घटेर २६ हजार ३७०.८९ अंकमा झरेको छ ।

    एस एन्ड पी ५०० अन्तर्गतका ११ प्रमुख क्षेत्रमध्ये नौ क्षेत्रमा गिरावट देखिएको छ ।

    सञ्चार सेवा क्षेत्र १.६३ प्रतिशत र उपयोगिता सेवा क्षेत्र १.१८ प्रतिशतले घटेका छन् ।

    यता, ऊर्जा क्षेत्र २.१ प्रतिशत र प्रविधि क्षेत्र ०.३ प्रतिशतले बढेका छन् ।

    अमेरिकाले इरानका रकेट प्रक्षेपणस्थललाई लक्षित गरी सैन्य कारबाही गरेपछि अमेरिका र इरानबीचको तनाव पुनः चर्किएको हो ।

    स्ट्रेट अफ हर्मुजमा नौसैनिक बारुदी सुरुङ बिछ्याउने धम्कीपछि अमेरिकाले उक्त कारबाही गरेको बताइएको छ ।

    केही सातायता दुई देशबीच भएको यो पहिलो प्रत्यक्ष सैन्य कारबाही भएको जनाइएको छ ।

    सैन्य तनाव बढेसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पनि प्रभाव परेको छ ।

    वेस्ट टेक्सस इन्टरमिडिएट कच्चा तेलको अक्टोबर आपूर्ति मूल्य २.३६ अमेरिकी डलर अर्थात् २.८३ प्रतिशतले बढेर प्रतिब्यारेल ८५.७६ डलर पुगेको छ ।

    त्यस्तै, ब्रेन्ट कच्चा तेलको नोभेम्बर आपूर्ति मूल्य २.३९ डलर अर्थात् २.७१ प्रतिशतले बढेर प्रतिब्यारेल ९०.४९ डलर पुगेको छ ।

    यसबीच, अमेरिकी केन्द्रीय बैंकको ब्याजदर नीतिलाई लिएर लगानीकर्ताको चिन्ता पनि कायमै छ ।

    अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष केभिन वार्शले ज्याक्सन होल आर्थिक नीति गोष्ठीमा शुक्रबार दिएको कडा नीतिको संकेतपछि आगामी सेप्टेम्बर बैठकमा ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढ्ने सम्भावनाबारे बजारको अपेक्षा ६२ प्रतिशत पुगेको छ ।

    एक साताअघि यस्तो सम्भावना करिब ४० प्रतिशत मात्र थियो ।

    ठूला प्रविधि कम्पनीका सेयरमा भने मिश्रित प्रदर्शन देखिएको छ ।

    चिप निर्माता एनभिडियाको सेयर १.४८ प्रतिशतले बढेको छ भने टेस्लाको सेयर ५.५१ प्रतिशतले उकालो लागेको छ ।

    यता, अमेजनको सेयर २.५ प्रतिशतले घटेको छ ।

    अमेरिकी संघीय व्यापार आयोग र २२ राज्यले डिजिटल विज्ञापनको लिलामी मूल्य निर्धारणमा अनुचित अभ्यास गरेको आरोप लगाउँदै अमेजनविरुद्ध संयुक्त मुद्दा दायर गरेपछि कम्पनीको सेयर दबाबमा परेको हो ।

    एप्पलको सेयर पनि करिब १ प्रतिशतले घटेको छ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले निर्धारित अवकाशअघि सोमबार आफ्नो अन्तिम कार्यदिवस पूरा गरेका छन् ।

    अमेरिकी कम्पनीहरूको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेपछि लगानीकर्ताको ध्यान अब शुक्रबार सार्वजनिक हुने अगस्ट महिनाको गैरकृषि रोजगारी प्रतिवेदनतर्फ केन्द्रित भएको छ ।

    उक्त प्रतिवेदनले अमेरिकी अर्थतन्त्रको अवस्था र आगामी ब्याजदर नीतिबारे थप स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images