काठमाडौं– नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको विपत्तिमा परी करिब ८५ अमेरिकी अझै बेपत्ता रहेका अमेरिकी विदेश मन्त्रालयले आइतबार जनाएको छ ।
विपद्पछि दुई हजार ५०० भन्दा बढी व्यक्तिहरू बेपत्ता रहेका छन् भने ७८१ जनाको मृत्यु भएको नेपाल सरकारका अधिकारीहरूले पुष्टि गरेका छन् ।
गत बुधबार बिहान हिलोसहित आएको वाढीले नेपालको रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा वस्तीहरूमा व्यापक भौतिक क्षति पनि पुगेको थियो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले एबीसीको टक शो दिस विकलाई बताएअनुसार नौ जना अमेरिकीलाई उद्धार गरिएको छ र कुनै अमेरिकी नागरिकको मृत्यु भएको जानकारी उनीसँग छैन ।
उनले भने, ‘प्रकृतिक विपत्तिले क्षति पु¥याएको स्थानको दुर्गम अवस्थाले भरपर्दो जानकारी प्राप्त गर्न कठिन छ, तर हाम्रो समर्पण र प्रतिबद्धता यथावत छ ।’
संयुक्त राज्य अमेरिका र क्यानडा दुवैले राहत तथा उद्धारमा सघाउन ३६ लाख डलर सहायता दिने जनाएका छन् भने बेलायतले ६८ लाख डलर प्रस्ताव गरेको छ ।
संयुक्त राष्ट्रसङ्घले आपतकालीन कोषबाट २५ लाख डलर सहायता जारी गरेको छ ।
अमेरिकी सहयोगको केही भाग सडक मर्मत र दुर्गम क्षेत्रमा खाना तथा अन्य सहायता पु¥याउन विशेष यातायात विकल्प परिचालनमा प्रयोग हुने पिगटले बताए ।
यो विनाश हिमताल भासिएका कारण भएको अमेरिकी भू–गर्भ सर्वेक्षणले जनाएको छ ।
चिनियाँ विज्ञहरूले नेपालको लिरुङ शिखरको दक्षिणी ढलानमा रहेको हिमताल फुटेको बताएका छन्।


विश्व खबर 




















