काठमाडौं– रसुवामा भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले जलविद्युत् आयोजना, सडक, पुल तथा आवास क्षेत्रमा ठूलो क्षति पुर्याएपछि पुनर्निर्माणको सम्भावित मागले सेयर बजारमा निर्माण क्षेत्रका कम्पनीको कारोबार बढेको छ ।
बाढीबाट भएको क्षतिको यकिन विवरण अझै सार्वजनिक भइसकेको छैन । तर, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी सञ्चारमाध्यम रोयटर्सलाई दिएको जानकारीअनुसार बाढीपछिको पुनर्निर्माणका लागि करिब पाँच अर्ब अमेरिकी डलर अर्थात् सात खर्ब ६० अर्ब रुपैयाँसम्म खर्च हुन सक्ने अनुमान गरिएको छ ।
पुनर्निर्माणका लागि ठूलो स्रोत र साधन आवश्यक पर्ने सम्भावनासँगै नेपाल स्टक एक्सचेन्जमा सूचीकृत निर्माण सामग्री तथा निर्माणसँग सम्बन्धित कम्पनीको सेयर कारोबारमा उल्लेख्य वृद्धि देखिएको हो ।
भदौ ९ गते मंगलबार बजारमा कुल चार अर्ब आठ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
त्यस दिन सूचीकृत पाँच सिमेन्ट कम्पनी र दुई रङ उद्योगको कुल १० करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यो कुल कारोबारको २.६५ प्रतिशत हो ।
त्यस दिन शिवम् सिमेन्ट्स, सोनापुर मिनरल्स एन्ड आयल, पाल्पा सिमेन्ट्स, घोराही सिमेन्ट्स, सर्वोत्तम सिमेन्ट्स, एभरेस्ट कलर र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको सेयर कारोबार भएको थियो ।
भदौ १० गते बाढी आएपछि भदौ ११ गते बिहीबार यी निर्माण क्षेत्रका कम्पनीको सेयर कारोबार रकम करिब चार गुणाले बढेर ४४ करोड रुपैयाँ पुगेको छ ।
उक्त दिन बजारमा कुल तीन अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसअनुसार निर्माण क्षेत्रका कम्पनीको कारोबार हिस्सा कुल कारोबारको ११.७४ प्रतिशत पुगेको छ ।
विशेषगरी शिवम् सिमेन्ट्स र सर्वोत्तम सिमेन्ट्सको कारोबारमा ठूलो वृद्धि देखिएको छ ।
शिवम् सिमेन्ट्सको सेयर कारोबार चार गुणाभन्दा बढीले बढेर २१ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
मंगलबार उक्त कम्पनीको पाँच करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
त्यस्तै, सर्वोत्तम सिमेन्ट्सको सेयर कारोबार २८ लाख रुपैयाँबाट करिब १३ गुणाले बढेर तीन करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
बाढीबाट क्षतिग्रस्त सडक, पुल, जलविद्युत् आयोजना तथा आवासको पुनर्निर्माण अघि बढ्दा सिमेन्ट, रङ तथा अन्य निर्माण सामग्रीको माग बढ्न सक्ने अपेक्षाले लगानीकर्ताको आकर्षण निर्माण क्षेत्रका कम्पनीतर्फ बढेको देखिन्छ ।
यद्यपि, पुनर्निर्माणको वास्तविक आवश्यकता, सरकारी योजना र कम्पनीहरूको वित्तीय अवस्थाले आगामी दिनमा यी कम्पनीको कारोबार तथा सेयर मूल्यको दिशा निर्धारण गर्नेछ ।


विश्व खबर 




















