काठमाडौं– नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्याउने उद्देश्यले सिटी एक्सप्रेसले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने रेमिट्यान्स सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ ।
विपद्को कठिन समयमा विदेशमा रहेका नेपालीले आफ्ना परिवार तथा प्रभावित आफन्तलाई सहज, छिटो र पूर्ण रकम पठाउन सकून् भन्ने उद्देश्यले बाढी आएको दिनदेखि नै यो विशेष सुविधा लागू गरिएको कम्पनीले जनाएको छ ।
यी देशबाट पैसा पठाउँदा शुल्क नलाग्ने
सिटी एक्सप्रेसका अनुसार खाडी मुलुकअन्तर्गत संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, कुवेत र ओमानबाट नेपाल पठाइने रेमिट्यान्समा सेवा शुल्क नलाग्ने भएको छ ।
त्यसैगरी एसिया तथा प्रशान्त क्षेत्रका जापान, दक्षिण कोरिया, मलेसिया र अस्ट्रेलियाबाट पनि निःशुल्क रेमिट्यान्स सेवा उपलब्ध हुनेछ ।
युरोपका बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्विडेन, नर्वे, जर्मनी र फ्रान्समा रहेका नेपालीले समेत यो सुविधाको लाभ लिन सक्नेछन् ।
ओसिनिया क्षेत्रको न्युजिल्यान्डबाट नेपाल पैसा पठाउँदा पनि सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।
प्रभावित परिवारलाई सहयोग पुग्ने अपेक्षा
सिटी एक्सप्रेस तथा यसका विभिन्न अन्तर्राष्ट्रिय माध्यममार्फत यो निःशुल्क रेमिट्यान्स सुविधा लागू गरिएको हो ।
यसबाट विश्वका विभिन्न मुलुकमा रहेका नेपालीले नेपालमा रहेका परिवार तथा बाढीपहिरो प्रभावित आफन्तलाई आर्थिक सहयोग पठाउन सहज हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सुविधा तत्काल प्रभावकारी रूपमा लागू गरिएको छ । सिटी एक्सप्रेसले विदेशमा रहेका नेपालीलाई विपद्को कठिन समयमा आफ्ना परिवार तथा प्रभावित समुदायलाई सहयोग गर्न निःशुल्क रेमिट्यान्स सेवाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ ।
सिटी एक्सप्रेसले विगत २० वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा सहज, सुरक्षित र भरपर्दो रूपमा रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।


विश्व खबर 




















