काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । सहयोग रकमको चेक नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।
कम्पनीका अनुसार उक्त सहयोगले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास लिइएको छ ।
प्रभावित परिवारप्रति सहानुभूति
नेपाल लाइफले विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ । कम्पनीले बाढी तथा विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने कम्पनीले जनाएको छ ।
नेपाल लाइफले प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सम्पूर्ण नागरिकलाई आग्रहसमेत गरेको छ ।
कम्पनीले विपद्को समयमा प्रभावित नागरिकको जीवन सहज बनाउन राज्य, निजी क्षेत्र र समुदायबीचको सहकार्य आवश्यक रहेको जनाएको छ ।


विश्व खबर 




















