काठमाडौं –अखिल नेपाल किसान महासंघ र नर्सरी तथा पुष्प उत्पादन किसान संघको नेतृत्वमा नेपाली पुष्प व्यवसायीले भारतीय फूल नष्ट गरिदिएका छन् । नेपाली फूलले बजार नपाएको भन्दै उनीहरुले दुई ट्रक भारतीय फूल नष्ट गरिदिएको किसान आयोगका प्रवक्ता जिवन्ती पौडेलले जानकारी दिइन् ।
नेपाली पुष्प व्यवसायीले किसान आयोगसँग आफूहरुको समस्या समाधान गरिदिन पटक–पटक आग्रह गरेका थिए । आयोगले किसानको समस्या समाधान गर्न निकै प्रयास गरेको थियो।आयोगका प्रयासका बाबजुत पनि समस्या समाधान नभएको भन्दै किसानले भारतीय फूल नष्ट गरिदिएका हुन् ।
अखिल नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य तथा नर्सरी तथा पुष्प उत्पादन किसान सङ्घ अध्यक्ष मोहनलाल सिलवालको पहल र नेतृत्वमा काठमाडौँको त्रिपुरेश्वरबाट दुई बोलेरो गाडी नियन्त्रणमा लिई फूल नष्ट गरिएको हो । भारतबाट आयात गरिएको ठुलो परिमाणको फूल नष्ट गरिएको छ । सयपत्री माला ७ हजार, गुलाफ एक हजार र रजनी फुल करिब २० किलो नष्ट गरिएको नर्सरी तथा पुष्प उत्पादक किसान संघका अध्यक्ष मोहन सिलवालले बताए । उनका अनुसार उक्त फूल ललितपुर महानगरपालिका वडा नं २२ बुगंमतिको बागमतीमा लगेर नष्ट गरिएको छ ।
गएको वर्ष पनि यही समयमा फूल नष्ट गरेको उनले बताए । जाडो महिनामा नेपालमा फुल उत्पादन कम हुने हुँदा त्यो बेलामा भारतबाट फूल आयात गर्न दिइन्छ । तर नेपालमा पुग्ने फुल उत्पादन हुँदा हुँदै भारतबाट आयात हुने हुँदा किसान मर्कामा परेका कारण फूल नष्ट गर्न बाध्य भएको उनले बताए ।
‘जाडो महिनामा नेपालमा फुल उत्पादन कम हुन्छ । त्यो बेला हामी आयात हुन दिन्छौँ । किनकि बजार नै ठप्प हुन त दिन भएन । तर नेपालमै फूल उत्पादन भइरहँदा भारतबाट आयात हुँदा हामी नष्ट गर्न बाध्य हुन्छौ’ उनले भने, ‘एक त भूकम्प , भूकम्प पछि पहिलो लहरको कोरोना, दोस्रो लहरको कोरोनाका कारण किसान मर्कामा परिरहेका छन् ।’
कोरोनाको समयमा पनि चितवनबाट काठमाडौँ फूल ल्याउन समस्या भएको तर भारतबाट निरन्तर फूल आयात भइरहेको घटना पनि उनले सुनाए । नेपाली पुष्प उत्पादक किसानहरु पटक पटक राष्ट्रीय किसान आयोगमा समस्या लिएर आउनुभएको थियो । राष्ट्रिय किसान आयोगले पुष्प ब्याबसायी किसानहरुको समस्यालाई सम्बोदन गर्न छलफल गरेको थियो । लकडाउनको समयमा काठमाडौंका किसानले मोटरसाइकलमा फुल बोकेर बजार लैजादै गर्दा अत्याबश्यक बस्तु हैन भनी रोकिदिएपछि मलाई फोन गर्नुभयो र प्रहरीसंगको समन्य गरेर छोडिदिएको घटनाको अनुभव सुनाए ।
यसरी फूल नियन्त्रणमा लिनुलाई किसानले विद्रोहको संज्ञा दिएका छन् । राज्यबाट कुनै संरक्षण र सहयोग बिना उत्पादन गरेको स्वदेशी फूलले भारतीय फूलसँग प्रतिस्पर्धा गर्न नसक्ने किसान बताउँछन् । भारतमा हजारौँ हेक्टर जमिन सस्तो लिजमा लिई राज्यबाट भरपुर सुविधा र अनुदान सहित उत्पादन गरेको फूल र नेपालमा बिना संरक्षण र सहयोगमा उत्पादन गरिएको फूलले कहिल्यै समान प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्