images
images
  • सभामुखको रुलिङले आज संसद आउँदै प्रधानमन्त्री, ११ सांसदसँग सवाल–जवाफ हुने

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ ले आज प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने दिँदैछन् ।

    सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको प्रश्नको जवाफ दिन रुलिङ गरेपछि प्रधानमन्त्री साहले पहिलोपटक संसदमा जवाफ दिन लागेका हुन् ।

    संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री साहले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यतालिका रहेको छ । सत्तापक्ष र प्रतिपक्ष गरी ११ जना सांसदले प्रधानमन्त्री साहलाई प्रश्न सोध्ने पूर्वतयारी छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेश सिंहले प्रश्न सोध्दैछन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले प्रश्न सोध्दैछन् ।

    त्यस्तै, एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्ना, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीबाट संसदीय दल नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्ने तय भएको छ ।

    प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था रहेकोमा लामो समयसम्म प्रधानमन्त्री सांसदका प्रश्नको जवाद दिन तयार नभएपछि सभामुखको रुलिङ पछि तयार भएका छन् ।

    त्यस्तै, आज प्रधानमन्त्री साहले ‘मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

    त्यसैगरी, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘नेपाल भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images