काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रका दुई दर्जनभन्दा बढी नवप्रवर्तनशील उद्यमी तथा स्टार्टअपसँग छलफल गरिरहनुभएको छ ।
अर्थ मन्त्रालयको आयोजनामा बजेट कार्यान्वयन संवाद शृंखलाअन्तर्गत आज मन्त्रालयको सभाहलमा छलफल भइरहेको हो । छलफल बिहान ११ बजेदेखि सुरु भएको छ ।
छलफलमा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत अघि सारेका नीति तथा कार्यक्रम, तिनको प्रभावकारी कार्यान्वयन र युवा उद्यमीले गरिरहेका प्रयासका विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।
युवा उद्यमी तथा नवप्रवर्तनशील व्यवसायलाई सरकारले गर्नुपर्ने नीतिगत तथा व्यावहारिक सहजीकरणका विषयमा समेत छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा अर्थमन्त्री वाग्लेले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले लिएका नीतिगत प्राथमिकता र बजेट कार्यान्वयनको अवस्थाबारे सरकारको धारणा प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यस्तै, सूचना प्रविधि क्षेत्रमा सक्रिय युवा उद्यमीले भोगिरहेका समस्या, उनीहरूले देखेका सम्भावना तथा सरकारबाट अपेक्षा गरेका सहजीकरणका विषयमा मौखिक र लिखित सुझाव लिइनेछ ।
अर्थ मन्त्रालयका अनुसार कार्यक्रमलाई बजेटमा समावेश भएका सूचना प्रविधिसम्बन्धी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि प्रत्यक्ष रूपमा उद्यमीको धारणा बुझ्ने अवसरका रूपमा लिइएको छ ।
सरकारले सूचना प्रविधिलाई रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा आर्थिक वृद्धिको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने लक्ष्य राख्दै आएको छ । आजको छलफलबाट प्राप्त सुझावलाई बजेट कार्यान्वयन तथा आगामी नीतिगत सुधारमा उपयोग गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ ।























