images
images
  • पदमुक्त राप्रपा सांसदबारे ज्ञानेन्द्र शाहीले के भने ?

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले आफ्नै पार्टीका नेता–कार्यकर्तालाई कडा प्रश्न गर्दै पार्टीभित्रको जिम्मेवारी र सूचनाको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।

    सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले बागमती प्रदेशका सांसद पदमुक्त नभएको दाबी गरेका छन् । उनले सम्बन्धित सांसदमाथि कारबाहीका लागि पार्टीले बागमती प्रदेश सभामा सचिवालयमा निवेदन मात्र बुझाएको बताएका छन् ।

    शाहीले निवेदन बुझाउँदैमा सांसद पदमुक्त नहुने उल्लेख गर्दै सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार निर्वाचन आयोगबाट पदमुक्त भएको घोषणा नभएसम्म सांसद पद कायमै रहने जिकिर गरेका छन् ।

    उनले पार्टीको आधिकारिक व्यक्ति तथा जिम्मेवार नेताहरूबाटै तथ्य नबुझी गलत सूचना फैलाइए पार्टी कसरी बलियो बन्न सक्छ भन्दै प्रश्न गरेका छन् । शाहीले पार्टीले कारबाही गर्न सक्ने भए पनि कारबाहीको निवेदन बुझाउँदैमा सांसद पदमुक्त भएको मान्न नसकिने स्पष्ट पारेका छन् ।

    उनले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई जनताले दिएको मतको सम्मान गर्नुपर्ने भन्दै ‘तथ्यमा बोलौँ, गलत सूचना होइन, सत्य कुरा प्रचार गरौँ’ भन्ने आग्रहसमेत गरेका छन् ।

    शाहीको यो अभिव्यक्तिले राप्रपाभित्र सांसद कारबाही र त्यसको प्रक्रियालाई लिएर देखिएको विवादलाई थप सतहमा ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images