हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभामा आज विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको आठौं अधिवेशनको १८औं बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।
भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त थापामगरले सोमबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।
निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्य कायम रहेको छ ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र निर्देशनबिना बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन प्रदेशसभा सदस्यलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आइतबार निर्देशन दिएको छ ।
बागमती प्रदेश सरकारमा मन्त्री बनेका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पूर्ण सफाइको मौका दिँदै स्पष्टीकरण मागिएको हो ।
एमालेका किरण थापा मगर नेतृत्वमा गठन भएको सरकारमा उनीहरू क्रमश: राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यही विषयमा विवाद उत्पन्न हुँदा राप्रपाले बागमती प्रदेश सभा संसदीय दलका नेता उद्धव थापालाई भदौ ४ गते नै साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिसकेको छ ।





















