images
images
  • इरानको पक्षमा उभियो चीन, भन्यो– ‘आर्थिक नाकाबन्दी समाधान होइन’

    काठमाडौं– चीनले इरानमाथि अमेरिकी प्रतिबन्ध र दबाब’ बढाएर मध्यपूर्वको द्वन्द्व समाधान नहुने बताउँदै राजनीतिक तथा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

    अमेरिकाले इरानी अर्थतन्त्रलाई अलग्याउन चीनलगायत मुलुकलाई आफ्नो अभियानमा सहभागी हुन आग्रह गरिरहेका बेला चीनको यस्तो धारणा आएको हो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनमाथि आर्थिक दबाब बढाउने चेतावनी दिँदै आएका छन् ।

    इरानले भने अमेरिकी अभियानलाई ‘आर्थिक आतङ्कवाद’ को संज्ञा दिँदै आएको छ ।

    ट्रम्पको पछिल्लो चेतावनीबारे शुक्रबार सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रतिबन्ध र दबाबले समस्या समाधान गर्न नसक्ने बताए ।

    उनले सम्बन्धित सबै पक्षलाई जिम्मेवार कदम चाल्दै राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान खोज्न आग्रह गरे ।

    अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने नीतिको बचाउ गर्दै चीनलाई पनि अमेरिकी अभियानमा सहभागी हुन आग्रह गरेका थिए ।

    उनले यस विषयमा धेरै कुराकानी निजी रूपमा गर्नु उपयुक्त हुने बताएका थिए ।

    बेसेन्टको भनाइबारे प्रतिक्रिया दिँदै प्रवक्ता लिनले चीनले अन्तर्राष्ट्रिय कानूनको आधार नभएका तथा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले अनुमोदन नगरेका एकपक्षीय प्रतिबन्धको विरोध गर्ने स्पष्ट पारे ।

    उनले मध्यपूर्वको समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने चीनको धारणा दोहोर्‍याए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images