images
images
  • जापानको टापुमा रूसी क्षेप्यास्त्र प्रक्षेपण, मस्को–टोकियो विवाद उत्कर्षमा

    काठमाडौं– जापानले आफ्नो देशले उत्तरी क्षेत्र भनेर दाबी गर्दै आएको विवादित कुरिल टापुमा रूसले क्षेप्यास्त्र परीक्षण गर्ने जानकारी दिएपछि मस्कोसँग विरोध जनाएको छ ।

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको उक्त क्षेत्रको भ्रमणपछि क्षेप्यास्त्र परीक्षणको विषय सार्वजनिक भएको हो ।

    जापानी सरकारका प्रवक्ताले शुक्रबार रूसको क्षेप्यास्त्र परीक्षण योजनाप्रति विरोध जनाइएको बताएका छन् ।

    जापान र रूसबीच कुरिल टापुहरूको स्वामित्वलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ ।

    जापानी समाचार संस्था क्योदोले रुसी प्यासिफिक फ्लीटलाई उद्धृत गर्दै परीक्षण भइसकेको जनाएको छ ।

    बास्टियन सतहदेखि जहाजमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणालीले सुसज्जित रूसी नौसैनिक एकाइले परीक्षण गरेको बताइएको छ ।

    परीक्षणमा निर्देशित क्षेप्यास्त्र क्रुजर ‘वर्याग’ र आणविक शक्तिबाट चल्ने पनडुब्बी ‘ओम्स्क’ समेत सहभागी भएको जनाइएको छ ।

    क्योदोका अनुसार अभ्यासमा शत्रु जहाजमाथि आक्रमणको अभ्यास गरिएको थियो र कम्तीमा ३०० किलोमिटर दूरीका सबै लक्षित लक्ष्यमा क्षेप्यास्त्र प्रहार सफल भएको थियो ।

    परीक्षणको वास्तविक मिति भने स्पष्ट पारिएको छैन ।

    राष्ट्रपति पुटिनले अगस्ट १३ मा सन् १९४५ पछि रुसको नियन्त्रणमा रहेका विवादित कुरिल टापुहरूको पहिलो आधिकारिक भ्रमण गरेका थिए ।

    त्यसपछि जापानले रुसी राजदूतलाई बोलाएर विरोध जनाएको थियो भने मस्कोले पनि त्यसको जवाफ दिएको थियो ।

    पुटिन रूसी नौसेनाको सैन्य अभ्यास भइरहेको सखालिन टापुको भ्रमणपछि कुरिल क्षेत्र पुगेका थिए ।

    पछिल्लो क्षेप्यास्त्र परीक्षणले जापान–रूसबीच टापुहरूको स्वामित्वलाई लिएर रहँदै आएको तनाव थप बढाउने सङ्केत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images