images
images
  • उत्तर कोरियाले १० भन्दा बढी क्षेप्यास्त्र प्रक्षेपण गरे पश्चात् रोकियो दक्षिण कोरिया र अमेरिकी सैन्य अभ्यास

    काठमाडौं– ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रतर्फ प्रहार गरेको भोलिपल्ट अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास निर्धारित समयभन्दा छ दिनअघि सम्पन्न गरेका छन् ।

    अभ्यास अवधि घटाउनु तनाव कम गर्ने अमेरिकी प्रयासका रूपमा हेरिए पनि उत्तर कोरियाले यसलाई वार्तामा फर्किने पर्याप्त सङ्केत मानेको छैन ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यासमा उल्लेख्य कटौती गर्न निर्देशन दिएका थिए ।

    उनले उत्तर कोरियाली नेता किम जोङ–उनसँगको राम्रो सम्बन्ध र इरानमा भएको युद्धमा दक्षिण कोरियाले अमेरिकालाई समर्थन नगरेको अवस्थालाई अभ्यास कटौतीको कारण बताएका थिए ।

    तर किम जोङ–उनकी बहिनी किम यो जोङले अभ्यासको अवधि र आकार घटाउँदैमा त्यसको उत्तेजक र आक्रामक प्रकृति परिवर्तन नहुने बताएका थिए ।

    त्यसको भोलिपल्ट उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो ।

    अमेरिकी प्यासिफिक कमान्डले क्षेप्यास्त्र प्रहारबाट अमेरिकी भू–भाग वा सहयोगीलाई तत्काल खतरा नपरेको जनाएको छ ।

    यसबीच किम यो जोङको वक्तव्यले ट्रम्प र किम जोङ–उनबीच वार्ता पुनः सुरु हुने सम्भावनाबारे देखिएको आशा कमजोर बनाएको छ ।

    सन् २०१९ मा आणविक वार्ता असफल भएपछि उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र कार्यक्रम आधुनिकीकरणलाई तीव्र बनाएको छ ।

    साथै युक्रेन युद्धका क्रममा रूससँग सैन्य सहकार्य विस्तार गरेको छ ।

    रूसलाई गोला–बारुद र सैनिक सहयोग दिएबापत प्योङयाङले आर्थिक तथा सैन्य सहयोग प्राप्त गरिरहेको विश्लेषण गरिएको छ ।

    यद्यपि किम यो जोङले तुलनात्मक रूपमा संयमित भाषा प्रयोग गर्दै आफ्ना भाइ र ट्रम्पबीचको ‘उत्कृष्ट’ सम्बन्धको उल्लेख गरेका छन् ।

    यसले उत्तर कोरियाले वार्ताको ढोका पूर्णरूपमा बन्द नगरेको र भविष्यमा आणविक शक्तिका रूपमा मान्यता तथा प्रतिबन्ध राहतजस्ता अमेरिकी सहुलियत खोज्न सक्ने सङ्केत गरेको विश्लेषकहरूको भनाइ छ ।

    सियोलस्थित इवा विश्वविद्यालयका प्राध्यापक लेइफ–एरिक इस्लेले उत्तर कोरियाले वर्तमान रणनीतिक अवस्थाको उपयोग गर्दै अमेरिकाबाट थप आर्थिक तथा प्रतिष्ठासम्बन्धी लाभ लिन खोज्न सक्ने बताए ।

    उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका प्राध्यापक किम डोङ–युबले भने व्यक्तिगत सम्बन्धले तत्काल अमेरिका–उत्तर कोरिया सम्बन्ध परिवर्तन गर्न नसक्ने प्योङयाङको धारणा देखिएको बताए ।

    किम यो जोङले ट्रम्पले किम जोङ–उनसँग वार्ताका लागि गरेको आग्रहको जवाफ प्राप्त भएको दाबी अस्वीकार गरेका छन् ।

    यस वर्ष किम जोङ–उनसँग भेट गर्ने सम्भावनाबारे सोध्दा ट्रम्पले आफूले उनसँग भेट गर्ने बताए ।

    उत्तर कोरियाली सम्भावित आक्रमणको सामना गर्ने तयारीका लागि अमेरिका र दक्षिण कोरियाले सञ्चालन गर्ने प्रमुख वार्षिक अभ्यासमध्ये उल्ची फ्रिडम सिल्ड एक हो ।

    यसपटक अभ्यास अवधि घटाइएकाले दुई देशको संयुक्त सैन्य तयारी र प्रतिरोध क्षमताबारे भने बहस बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images