images
images
  • ट्रम्पको नयाँ आर्थिक डी-डे घोषणा : के इरान थप कमजोर बन्न सक्छ ?

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्ध छिट्टै विजयको घोषणा गरेको करिब छ महिना बितिसक्दा पनि दुई देशबीचको द्वन्द्व सुल्झिएको छैन ।

    सैन्य वा कूटनीतिक समाधानको सम्भावना क्षीण बन्दै गएपछि ट्रम्प प्रशासनले अब ‘आर्थिक डी-डे’ को रणनीति अघि सारेको छ ।

    ट्रम्पले इरानसँग व्यापार गर्ने जुनसुकै देशले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

    उनको भनाइ छ, “इरानसँग कारोबार गर्ने, पैसा पठाउने, तेल किन्ने वा समुद्री मार्गबाट व्यापार गर्ने देशहरू अमेरिकी ट्रेजरीको पूर्ण कारबाहीको सामना गर्न तयार रहनुपर्नेछ ।”

    अमेरिकी अर्थमन्त्री स्कट बेस्नटले आगामी २४ अगस्टको पत्रकार सम्मेलनमा यस योजनाको विस्तृत जानकारी दिने बताएका छन् ।

    उपराष्ट्रपति जेडी भान्सले यसलाई द्वन्द्वको नयाँ चरण भन्दै आर्थिक दबावलाई सबैभन्दा प्रभावकारी हतियार करार गरेका छन् ।

    इरान भने सन् १९७९ पछि विभिन्न प्रतिबन्धको सामना गर्दै आएको छ र उसले आर्थिक तथा सैन्य रूपमा थप चोट सहन सक्ने अडान लिइसकेको छ ।

    ट्रम्पले सन् २०१५ को परमाणु सम्झौता (JCPOA) बाट अमेरिकालाई फिर्ता लिएपछि यो दबाव अझ बढेको हो ।

    हाल अमेरिकाले अपरेशन इकोनमिक फ्यूरी अन्तर्गत दुई मुख्य कदम चालेको छ, इरानी वित्तीय प्रवाहमा प्रतिबन्ध र इरानी बन्दरगाहहरूमा समुद्री नाकाबन्दी ।

    तर विज्ञहरू भने यो नयाँ कदमले खासै फरक पार्नेमा शंका गर्छन् ।

    एट्लान्टिक काउन्सिलका विज्ञ इमरान बेयुमी भन्छन्, “यो अमेरिकाको निराशाको स्वीकारोक्ति हो । उनीहरूसँग स्पष्ट सैन्य वा आर्थिक रणनीति छैन।”

    पूर्व प्रतिबन्ध अधिकारी माइकल पार्करका अनुसार नयाँ योजनाले तेस्रो देशका वित्तीय संस्थालाई लक्षित गर्न सक्छ, जसले अमेरिकी डलर प्रणाली र इरान दुवैसँग कारोबार गर्छन् ।

    तर इरानले प्रतिबन्ध छल्न ‘छद्म’ पानीजहाज र नयाँ व्यावसायिक नामहरू प्रयोग गर्ने कुशलता देखाइसकेको छ ।

    लन्डन स्टक एक्सचेन्जका मोहम्मद हम्मुदा भन्छन्, “जस्तोसुकै प्रतिबन्ध आए पनि इरानले छिट्टै नयाँ बाटो भेट्टाउँछ ।”

    चीन, टर्की र इराक जस्ता देशहरूले यस प्रतिबन्धमा कस्तो प्रतिक्रिया दिन्छन् भन्ने पनि महत्वपूर्ण हुनेछ ।

    बेयुमी भन्छन्, “चीनले सजिलै सहमति जनाउँदैन । उनीहरूले आफ्नो स्वार्थ सन्तुलन गर्दै आएका छन् ।”

    अन्त्यमा, विज्ञहरू स्पष्ट रणनीतिबिना यस्ता आर्थिक कदमले दीर्घकालीन परिवर्तन ल्याउन नसक्ने निष्कर्ष निकाल्छन् ।

    “यो एउटा साधन मात्र हो, तर मूल प्रश्न समग्र रणनीतिको हो,” बेयुमी थप्छन् । –बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images