काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद र असन्तुष्टि सतहमा आएको छ ।
बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गर्ने निर्णयसँगै पार्टीका पूर्वअध्यक्ष कमल थापाले नेतृत्वप्रति कडा आपत्ति जनाउँदै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वअध्यक्ष थापाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा निर्मित परिस्थितिबाट आफू ‘अत्यन्तै विरक्तिएको’ उल्लेख गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनतर्फ सङ्केत गर्दै उनले पूर्वयोजना अनुसार नै पूर्वाग्रह राखेर एकपक्षीय रूपमा निष्कासनको निर्णय गरिएको दाबी गरे ।
उनले पार्टीभित्र अधिनायकवादी प्रवृत्तिको हाबी भएको चर्चा गर्दै विधि र पद्धतिको मिच्याइँ रोक्न आग्रह गरेका छन् । यस्तै, पार्टीभित्र नीतिगत समीक्षाको आवश्यकता रहेको भन्दै पूर्व अध्यक्ष थापाले सरकारमा सहभागी हुने/नहुने नीति, विगतमा प्रदेशमा लिइएका सभामुख तथा उपसभामुख पद, र भदौ २४ पछि सांसदहरूले राजीनामा दिने भनिएको निर्णय कार्यान्वयन नभएको विषयमा गम्भीर समीक्षा हुनुपर्ने माग राखेका छन् ।
कारबाही समाधान नभएको तर्क गर्दै उनले दम्भ र गुटबन्दीका आधारमा नभई सद्भाव, एकता र विधि–पद्धतिका आधारमा पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।
पार्टी कमजोर बन्दै गएको अवस्थामा कारबाहीको शृङ्खला अझै बढ्न सक्ने आशङ्का व्यक्त गर्दै थापाले नेता–कार्यकर्ताहरूलाई विचलित नभई अघि बढ्न अपिल गरेका छन् । परिस्थिति विस्तारै सकारात्मक बन्ने र राप्रपालाई पुन: सशक्त बनाएर उठाउने दाबीसमेत उनले प्रस्तुत गरेका छन् ।






















