images
images
  • अमेरिकी सैन्य कारबाहीमा सहभागी भए खाडी राष्ट्रहरू खरानी बनाइदिने इरानको चेतावनी

    काठमाडौं– इरानको सशस्त्र सेनाले अमेरिकी सेनालाई सहयोग वा आफ्नो भू–भाग प्रयोग गर्न दिने कुनै पनि खाडी मुलुक अमेरिकी सैन्य कारबाहीमा सहभागी भएको मानिने चेतावनी दिएको छ ।

    इरान र अमेरिकाबीच जारी युद्धबीच इरानी सेनाको यस्तो चेतावनीले खाडी क्षेत्रमा सैन्य तनाव थप बढ्ने सङ्केत गरेको छ ।

    इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली अब्दोलाहीले अमेरिकी सेनालाई दिइने कुनै पनि सहयोग वा सुविधा अमेरिकी सैन्य कारबाहीमा सहभागिता सरह हुने बताएको मेहर समाचार एजेन्सीले जनाएको छ ।

    उनले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारमा ठूलो सङ्ख्यामा सैन्य विमान, विशेषगरी हवाई इन्धन भर्ने विमान, सम्बन्धित देशको जानकारी वा सहमतिबिना तैनाथ हुन सक्ने सम्भावना न्यून रहेको बताए ।

    त्यसैले इरानविरुद्ध आफ्नो भू–भाग प्रयोग गर्न नदिने भन्दै वक्तव्य जारी गरेका खाडी मुलुकहरूलाई अवस्थाबारे आफूहरू पूर्णरूपमा जानकार रहेको उनले चेतावनी दिए ।

    अब्दोलाहीले अमेरिकी सेनालाई सहयोग गर्नु वा अमेरिकी सैन्य गतिविधिका लागि सुविधा उपलब्ध गराउनु इरानविरुद्धको कारबाहीमा प्रत्यक्ष संलग्नताका रूपमा लिइने स्पष्ट पारे ।

    उनले चेतावनी विशेषगरी खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार तथा तिनको प्रयोगसँग सम्बन्धित देखिएको छ ।

    इरान र अमेरिकाबीच फेब्रुअरी २८ देखि युद्ध जारी छ ।

    इरानमाथि अमेरिका–इजरायलले गरेको आक्रमणपछि युद्ध सुरु भएको र त्यसको जवाफमा इरानले क्षेत्रभर रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको बताइएको छ ।

    यसैबीच, अमेरिकी नौसेनाको ‘युएसएस जर्ज वासिङ्टन’ विमानवाहक युद्धपोत मध्यपूर्वमा पुनः तैनाथ गरिँदैछ ।

    चालक दलको जीवनयापनसम्बन्धी अवस्था बिग्रिएको रिपोर्टपछि उक्त विमानवाहकलाई ‘युएसएस अब्राहम लिङ्कन’ को स्थान लिन मध्यपूर्व पठाउन लागिएको हो ।

    इरानी चेतावनी अमेरिकी सैन्य उपस्थितिसँगै खाडी क्षेत्रमा तनाव बढिरहेका बेला आएको हो ।

    खाडी मुलुकहरूले आफूहरूलाई इरानविरुद्धको युद्धमा प्रत्यक्ष रूपमा संलग्न नगराउने बताउँदै आए पनि अमेरिकी सेनाको गतिविधि र सैन्य आधारको प्रयोगलाई लिएर तेहरानले ती देशहरूलाई थप दबाब दिन थालेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images