काठमाडौं– रूससँगको युद्धमा युक्रेनको प्रमुख हवाई प्रतिरक्षा प्रणाली अमेरिकी निर्मित प्याट्रियट अहिले इन्टरसेप्टर क्षेप्यास्त्रको चरम अभावमा परेको छ ।
केही प्रक्षेपकका ट्युबसमेत खाली छन् ।
युक्रेनी अधिकारीका अनुसार आवश्यक क्षेप्यास्त्रको तुलनामा हाल मौज्दात करिब १ प्रतिशत मात्रै छ ।
मध्यपूर्वमा इरानी ड्रोन तथा क्षेप्यास्त्रविरुद्ध प्याट्रियटको ठूलो प्रयोगले पनि युक्रेनको आपूर्तिमा असर पारेको छ ।
उत्पादनको तुलनामा युद्धमा भइरहेको खपत निकै उच्च छ ।
लकहिड मार्टिनले सन् २०२५ मा करिब ६२० इन्टरसेप्टर उत्पादन गरेकोमा मध्यपूर्वको द्वन्द्वमा केही दिनमै त्यसको कैयौँ गुणा प्रयोग भएको थियो ।
अमेरिकाले सन् २०३० सम्म वार्षिक २ हजार प्याट्रियट इन्टरसेप्टर उत्पादन गर्ने लक्ष्य राखेको छ ।
तर युक्रेनलाई अहिले नै आवश्यक परेकाले यो दीर्घकालीन योजना तत्कालको समस्या समाधान गर्न पर्याप्त देखिँदैन ।
युक्रेनले आफ्नै भूमिमा प्याट्रियट इन्टरसेप्टर उत्पादन गर्ने प्रस्तावसमेत अघि सारेको छ ।
अमेरिकी कम्पनी लकहिड मार्टिन र रेथियनसँग सहकार्य तथा प्रविधि हस्तान्तरणको अपेक्षा गरिएको छ ।
तर उच्च प्रविधि, ठूलो लगानी र जटिल उत्पादन पूर्वाधारका कारण तत्कालै स्वदेशमै उत्पादन सुरु गर्न कठिन छ ।
यसबीच अमेरिकी अनुमति र प्रविधि हस्तान्तरणबारे पनि अन्तिम निर्णय भइसकेको छैन ।
त्यसैले अत्याधुनिक प्याट्रियट प्रणाली, राडार र दक्ष जनशक्ति हुँदाहुँदै पनि इन्टरसेप्टर नहुँदा युक्रेनको हवाई प्रतिरक्षा कमजोर बनेको छ ।
आगामी जाडोमा रुसले ऊर्जा पूर्वाधार र आवासीय क्षेत्रमा आक्रमण बढाउन सक्ने भएकाले प्याट्रियट क्षेप्यास्त्रको आपूर्ति युक्रेनका लागि अझ महत्वपूर्ण बनेको छ ।
अहिले खाली अवस्थामा रहेका प्याट्रियट प्रक्षेपकहरू अत्याधुनिक हतियार प्रणाली भएर पनि आवश्यक गोलाबारुद नहुँदा युद्धक्षमतामा देखिएको गम्भीर कमजोरीका प्रतीक बनेका छन् ।


विश्व खबर 




















