काठमाडौं– युक्रेनले बेलायतमा निर्मित ड्रोनमार्फत रूसी सैन्य तथा औद्योगिक क्षेत्रमा आक्रमण गरेको समाचार सार्वजनिक भएपछि रूसले बेलायतलाई आणविक बम आक्रमणको चेतावनी दिएको छ ।
सन्डे टाइम्सका अनुसार दुई बेलायती कम्पनीले बनाएका ड्रोन रूसी भू–भागमा प्रयोग भएका छन् ।
रूसी दूतावासले बेलायतलाई युक्रेनको आक्रमणमा ‘सहयोगी’ बनेको आरोप लगाउँदै संलग्नता बढ्दै गए त्यसको परिणाम पनि गम्भीर हुने चेतावनी दिएको छ ।
युक्रेनलाई बेलायतले करिब २५ अर्ब पाउन्ड बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ, जसमा करिब १६ अर्ब पाउन्ड सैन्य सहायता रहेको छ ।
पछिल्लो समय युक्रेनले रूसी सैन्य तथा औद्योगिक पूर्वाधारमा ड्रोन आक्रमण तीव्र बनाएको छ भने रूसले पनि किएभसहित युक्रेनका विभिन्न क्षेत्रमा हवाई हमला बढाएको छ ।
बेलायती ड्रोन रूसी भू–भागमा प्रयोग भएको घटनाले पश्चिमी सैन्य सहयोग र रूस–पश्चिम तनाव थप चर्किने संकेत गरेको छ ।


विश्व खबर 




















