काठमाडौं– अमेरिकासँगको समझदारीपत्र (एमओयू)को अवधि सकिन लागेसँगै इरानले अमेरिकाविरुद्ध थप आक्रामक रणनीति अपनाउने संकेत दिएको छ ।
इरानी अधिकारीहरूले आवश्यक परे अमेरिकी सैन्य उपस्थिति र स्वार्थलाई निशाना बनाउन तयार रहेको बताएका छन् ।
आईआरजीसीका राजनीतिक ब्युरो प्रमुख ब्रिगेडियर जनरल यदोल्लाह जवानीले युद्ध सुरुआतमा रक्षात्मक रहे पनि अब आक्रामक स्वरूप लिन सक्ने चेतावनी दिएका छन् ।
उनले इरानी सेना सम्भावित ‘रणनीतिक आश्चर्य’ का लागि तयार रहेको बताए ।
इरानी अधिकारीहरूले अमेरिकी आक्रमण भए ऊर्जा सञ्जाल, विद्युत् केन्द्र र इन्टरनेट पूर्वाधारलगायत अमेरिकी तथा क्षेत्रीय सहयोगीका संरचनालाई निशाना बनाउन सकिने चेतावनी दिएका छन् ।
बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य तथा अन्य स्वार्थविरुद्ध कारबाहीको विषयमा पनि इरानभित्र चर्चा भइरहेको छ ।
यसैबीच, सर्वोच्च नेता मोज्तबा खामेनेईले आईआरजीसीमा नयाँ नेतृत्व नियुक्त गर्दै ‘अधिकतम प्रतिरोध’ र शक्तिशाली आक्रामक कारबाहीका लागि तयार रहन निर्देशन दिएका छन् ।
इरानले होर्मुज जलडमरूमध्यको सुरक्षा र दक्षिणी टापुहरूमा समेत सैन्य तयारी तीव्र पारेको जनाएको छ ।
इरानका अधिकारीहरूले अमेरिकाले स्थल आक्रमण गरे त्यसको कडा प्रतिकार गर्ने बताएका छन् ।
अमेरिकी सेनाले स्थल आक्रमणको तयारी गरिरहेको पछिल्लो प्रमाण भने सार्वजनिक भएको छैन ।
इरानले अमेरिकाले जुनमा गरेको प्रतिबद्धता कार्यान्वयन नगरेसम्म होर्मुज पूर्ण रूपमा नखोलिने जनाएको छ ।
तर, विदेश मन्त्रालयले एमओयूको अवधि सकिनु आफैंमा युद्ध वा ओमानसँग भइरहेको होर्मुजसम्बन्धी वार्तामा निर्णायक प्रभाव पार्ने कुरा अस्वीकार गरेको छ ।
इरानी अधिकारीहरूले दबाब, अल्टिमेटम वा समयसीमाका आधारमा नभई राष्ट्रिय हित र सुरक्षालाई आधार बनाएर निर्णय गर्ने बताएका छन् ।


विश्व खबर 




















