images
images
  • माईखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई सहज, आवतजावतको दुःख हट्यो

    काठमाडौं– इलाम नगरपालिका–८ र १० जोड्ने काइलाटारमा माईखोलामाथि झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन् । पुल निर्माणसँगै वर्षायाममा माईखोला वारिपारि आवतजावत गर्नुपर्ने कठिनाइ हटेको छ ।

    कोशी प्रदेश सरकारको लगानीमा आर्थिक वर्ष २०८२र८३ मा निर्माण गरिएको उक्त झोलुङ्गे पुल १७९ मिटर लामो छ । पुल निर्माणमा ८४ लाख ७१ हजार ४६० रुपैयाँ खर्च भएको छ । पूर्वाधार विकास कार्यालय, इलामका प्रमुख रञ्जय सिंहका अनुसार तिल्केनी–सिलपुर सडकअन्तर्गत पर्ने काइलाटारमा पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ ।

    पुल नहुँदा वर्षायाममा माईखोला पार गर्न स्थानीयले राजदुवाली वा सिमलगोलाईको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। त्यसका कारण नजिकैका स्थानमा पुग्न पनि घुमाउरो बाटो हुँदै घण्टौँ यात्रा गर्नुपर्ने अवस्था थियो ।

    इलाम नगरपालिका–८ का सन्तोष गोलेले पुल निर्माणपछि माईखोलाका वारिपारिका बस्तीबीच आवतजावत गर्न निकै सहज भएको बताउनुभयो । “हिउँदयाममा खोला तरेर वारिपारि गर्न सहज नै हुन्थ्यो। तर वर्षायाममा त्यही नजिकै जान पनि राजदुवाली वा सिमलगोलाईको बाटो घुमेर जानुपर्दथ्यो,” उहाँले भन्नुभयो, “अब त्यो समस्याबाट मुक्त भएका छौँ ।”

    झोलुङ्गे पुल निर्माण भएपछि काइलाटार क्षेत्रमा घुमघाम गर्न आउनेको सङ्ख्या पनि बढ्न थालेको स्थानीयले बताएका छन्। पुलमा तस्बिर खिच्ने तथा मनोरञ्जनका लागि आउने मानिसको सङ्ख्या बढ्दै गएको गोलेले बताउनुभयो ।

    मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि उक्त पुल र आसपासको सडक दुईपाङ्ग्रे सवारीसाधनका लागि थप महत्वपूर्ण बनेको छ ।

    इलाम नगरपालिका–८ का वडाध्यक्ष दलमान तामाङका अनुसार इलामबाट झापा र झापाबाट इलामतर्फ जाने दुईपाङ्ग्रे सवारीसाधनले अहिले यही मार्ग प्रयोग गर्न थालेका छन् ।

    “अहिले यही बाटो भएर दैनिक सयौँको सङ्ख्यामा मोटरसाइकल चल्न थालेका छन्,” वडाध्यक्ष तामाङले भन्नुभयो, “इलाम–राजदुवाली सडक बन्द रहेकाले सदरमुकामबाट मेची राजमार्ग जोड्ने सबैभन्दा छोटो दूरीको सडक यही भएकाले दुईपाङ्ग्रे सवारीका लागि यो उपयुक्त विकल्प बनेको छ ।”

    उहाँका अनुसार तिल्केनी–सिमलगोलाईको बाटो लामो दूरीको भएकाले दुईपाङ्ग्रे सवारीसाधनले छोटो दूरीको वैकल्पिक मार्गका रूपमा काइलाटार हुँदै जाने सडक प्रयोग गरिरहेका छन् ।तिल्केनी–सिलपुर सडक इलाम नगरपालिका–८ को तिल्केनीबाट छुट्टिएर इलाम नगरपालिका–१० गोदकस्थित सिलपुरमा जोडिन्छ। झोलुङ्गे पुल निर्माणसँगै यस क्षेत्रका बासिन्दालाई दैनिक आवतजावतमा सहज हुनुका साथै सडक सम्पर्कसमेत थप प्रभावकारी बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images