काठमाडौं-महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले आफन्तको जिम्मा लगाएर पठाएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिइएपछि उनलाई आफन्तीको जिम्मा लगाइएको हो।
आइतबार बिहान करिब ३ बजे जबरा र उनका परिवारका सदस्यहरू सुतिरहेका बेला प्रहरी टोली महाराजगञ्जस्थित निवासमै पुगेर उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरी अधिकारीहरूले सुरक्षा खतरा रहेकाले नियन्त्रणमा लिनुपरेको दाबी गरे पनि जबराले भने आफूलाई त्यस्तो कुनै खतराबारे जानकारी नभएको र घरमै थप सुरक्षाकर्मी खटाइदिन आग्रह गरेका थिए।
प्रहरीले उनलाई औपचारिक रूपमा पक्राउ गरिएको हो वा सुरक्षाका लागि लगिएको हो भन्नेबारे अझै स्पष्ट पारिसकेको छैन। सुरुमा नियन्त्रणमा लिइएको पुष्टि गरेको प्रहरीले पछि सुरक्षा चुनौतीका कारण सुरक्षित स्थानमा सारिएको बताएको थियो।
तर, कस्तो प्रकारको सुरक्षा चुनौती थियो, कसबाट वा केबाट खतरा थियो र घरबाटै लिएर जानुपर्ने अवस्था किन आयो भन्नेबारे प्रहरीले कुनै विस्तृत जानकारी सार्वजनिक गरेको छैन। साथै, जबराविरुद्ध कुनै आपराधिक अनुसन्धान वा मुद्दा अघि बढाइएको होरहोइन भन्ने विषय पनि अझै अस्पष्ट नै रहेको छ।


विश्व खबर 

















