काठमाडौं-महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आफन्तको जिम्मा लगाएर पठाइएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिएपछि जबरालाई आफन्तको जिम्मा लगाइएको हो। उनको निगरानी तथा सुरक्षाका लागि प्रहरीसमेत तैनाथ गरिएको बताइएको छ। आइतबार बिहान करिब ३ बजे जबरा र उनका परिवारका सदस्यहरू सुतिरहेका बेला प्रहरी टोली महाराजगञ्जस्थित निवासमै पुगेको थियो। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरी अधिकारीहरूले जबरालाई सुरक्षा खतरा रहेकाले नियन्त्रणमा लिनुपरेको दाबी गरेका छन्। तर, जबराले आफूलाई त्यस्तो कुनै सुरक्षा खतराबारे जानकारी नभएको बताएका थिए। उनले घरमै थप सुरक्षाकर्मी खटाइदिन प्रहरीसँग आग्रह गरेका थिए।
प्रहरीले उनलाई औपचारिक रूपमा पक्राउ गरिएको हो वा सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो भन्नेबारे स्पष्ट पारेको छैन। सुरुमा नियन्त्रणमा लिइएको पुष्टि गरेको प्रहरीले पछि सुरक्षा चुनौतीका कारण सुरक्षित स्थानमा सारिएको बताएको थियो। तर, कस्तो सुरक्षा चुनौती थियो, कसबाट वा केबाट खतरा थियो र जबरालाई घरबाटै नियन्त्रणमा लिएर लैजानुपर्ने अवस्था किन आयो भन्नेबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।


विश्व खबर 


















